धनगढी – कैलालीको टीकापुरमा अन्तरव्यवस्थापिका सम्मेलन हुने भएको छ । अन्तरव्यवस्थापिका मञ्चको आयोजना तथा सुदूरपश्चिम प्रदेश सभाको व्यवस्थापनमा हुन लागेको सम्मेलन यही २३ जेठमा उद्घाटन हुनेछ ।

सम्मेलनमा प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, सातवटै प्रदेशका सभामुख, उपसभामुख, संघ र प्रदेश संसद्का सचिवलगायतको सहभागिता रहनेछ । जेठ २४ गते घोषणापत्र जारी गरेर सम्मेलन समापन गर्ने गरी कार्यक्रम तय गरिएको सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा पहिलोपटक यो सम्मेलन हुन लागेको हो । सम्मेलनमा कानुन निर्माण, कार्यान्वयनको अवस्था, सभा सञ्चालन, संसद्का कठिनाइ लगायत विषयमा छलफल हुनुका साथै संघ र प्रदेशका अनुभवहरू आदानप्रदान गरिने सभामुख भण्डारीले बताए । सरकारलाई सदनप्रति कसरी उत्तरदायी बनाउने भन्ने विषयमा पनि छलफल हुने उनले जानकारी दिए ।
सम्मेलनबारे जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा सभामुख भण्डारीले मूलतः कानुन निर्माण तथा सभालाई कसरी अझ व्यवस्थित, मर्यादित ढंगले कसरी सञ्चालन गर्न सकिन्छ भन्नेमा छलफल केन्द्रित रहने बताए । उनका अनुसार बजेट सदनले पारित गर्ने, बजेटको दायित्व सभातिर जाने, तर बजेटमा सरकार अराजक ढंगले प्रस्तुत हुने गरेको विषय पनि छलफलका रूपमा रहनेछ ।


















