खाेज्नुहाेस

जनमतको नयाँ सन्देश र सरकारको ठूलो जिम्मेवारी

Image

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतगणना अन्तिम चरणमा पुग्दै गर्दा देशको राजनीतिक चित्र लगभग स्पष्ट भइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हासिल गर्दै करिब दुई तिहाई बहुमततर्फ अघि बढेको स्पष्ट छ । लामो समयदेखि नेपाली राजनीतिमा प्रभाव जमाएका पुराना दलहरू भने यसपटक निकै पछि परेका छन् । यो परिणाम केवल दलहरूको हार–जित मात्र नभई नेपाली जनताले दिएको परिवर्तनको स्पष्ट सन्देश पनि हो ।

विगतका वर्षहरूमा जनताले बारम्बार राजनीतिक सुधारको अपेक्षा गरेका थिए । तर सरकार फेरिए पनि शासनशैली, पारदर्शिता, सुशासन र उत्तरदायित्वमा अपेक्षित सुधार हुन सकेन भन्ने व्यापक धारणा बन्यो । भ्रष्टाचारका आरोप, आन्तरिक गुटबन्दी, सीमित नेतृत्वको दोहोरिने चक्र र युवापुस्ताको अपेक्षाप्रति संवेदनशील हुन नसक्नु पुराना दलहरू कमजोर हुनुका प्रमुख कारण बने । परिणामस्वरूप मतदाताले वैकल्पिक शक्तितर्फ भरोसा देखाएका छन् ।

attariya hospital
navjiwan hospital

यस निर्वाचनले नेपाली जनता पहिलेभन्दा धेरै सचेत र जागरुक भएको पनि पुष्टि गरेको छ । अब केवल पार्टीको पुरानो प्रभाव वा संगठन मात्र पर्याप्त छैन; जनताको विश्वास जित्न स्पष्ट नीति, पारदर्शिता र कामको प्रमाण आवश्यक भएको छ । कैलाली निर्वाचन क्षेत्र नं. ४ को परिणामले पनि यही प्रवृत्ति झल्काएको छ । यहाँका विजयी उम्मेदवारले प्रतिस्पर्धीहरूलाई निकै फराकिलो मतान्तरले पराजित गरेका छन् । यसले स्थानीय स्तरमै परिवर्तनको चाहना कति बलियो छ भन्ने देखाउँछ । मतदाताले परम्परागत प्रभावभन्दा नयाँ राजनीतिक धारप्रति भरोसा देखाएको स्पष्ट संकेत मिलेको छ ।

तर रास्वपाको जितसँगै केही प्रश्नहरू पनि उठिरहेका छन् । यस पार्टीबाट निर्वाचित भएका केही उम्मेदवारहरू विभिन्न विवादमा जोडिएका छन् भन्ने चर्चा सार्वजनिक रूपमा भइरहेको छ । त्यस्तै पार्टीका सभापति रवि लामिछाने स्वयं पनि विगतमा विभिन्न विवाद र आरोपको केन्द्रमा रहँदै आएका छन् । यस्तो अवस्थामा जनताले दिएको विश्वासलाई कसरी जोगाउने भन्ने चुनौती रास्वपा नेतृत्वका सामु स्पष्ट रूपमा उभिएको छ ।

बहुमतसहित सरकार बनाउने अवस्थामा पुगेको रास्वपाले अब सबैभन्दा पहिले सुशासन र पारदर्शितालाई प्राथमिकता दिनुपर्छ । भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, सेवा प्रवाहमा सहजता र आर्थिक सुधारका स्पष्ट कार्यक्रम ल्याउन सके मात्र जनताको विश्वास बलियो बन्न सक्छ । साथै आफ्नै पार्टीभित्र उठेका विवाद र प्रश्नहरूको पारदर्शी ढंगले समाधान गर्न सकेन भने परिवर्तनको आशा कमजोर हुन सक्छ ।

पुराना दलहरूका लागि यो परिणाम गम्भीर आत्मसमीक्षाको अवसर हो भने रास्वपाका लागि ठूलो परीक्षा पनि हो । जनताले परिवर्तनको आशामा नयाँ शक्ति रोजेका छन् । यदि यो अपेक्षा पूरा भएन भने जनमत फेरिन धेरै समय लाग्दैन । यसर्थ प्रतिनिधि सभा निर्वाचन २०८२ को परिणामले नेपाली राजनीतिलाई एउटा महत्वपूर्ण मोडमा ल्याइपु¥याएको छ । अब सरकारको नेतृत्व गर्ने रास्वपाले कामबाट विश्वास जित्नुपर्नेछ र पुराना दलहरूले सुधारमार्फत जनताको भरोसा पुनः प्राप्त गर्ने प्रयास गर्नुपर्नेछ । अन्ततः लोकतन्त्रमा अन्तिम निर्णायक शक्ति जनता नै हुन् भन्ने सन्देश यो निर्वाचनले पुनः पुष्टि गरेको छ ।