खाेज्नुहाेस

अब मत बदर नहोस्

Image

भरखरै प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएको छ । सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा पनि यसपटक शान्त र सहज रुपमा निर्वाचन सम्पन्न भयो । प्रदेशमा कुल १७ लाख १६ हजार ६६० मतदातामध्ये ८ लाख ७४ हजार मत खसेको थियो । तीमध्ये ८ लाख २२ हजार ९४४ मत सदर भएका छन् भने ५१ हजार ५६ मत बदर भएको तथ्यांक सार्वजनिक भएको छ । अर्थात् सदर मत ९४.१६ प्रतिशत रहँदा बदर मत ५.८४ प्रतिशत पुगेको देखिन्छ ।

प्रतिशतका हिसाबले यो संख्या ठूलो नदेखिए पनि ५१ हजारभन्दा बढी मत बदर हुनु सामान्य विषय होइन । लोकतन्त्रमा प्रत्येक मत नागरिकको आवाज हो । तर हजारौं मत बदर हुनु भनेको त्यति नै नागरिकको अभिव्यक्ति औपचारिक रूपमा गणनामा नपुग्नु हो । त्यसैले बदर मतको यो तथ्यांकले निर्वाचन प्रक्रियाको प्रभावकारिता र मतदाता सचेतनाबारे गम्भीर प्रश्न उठाएको छ ।

attariya hospital

नेपालमा बदर मतको समस्या नयाँ होइन । विगतका निर्वाचनहरूमा पनि प्रत्यक्ष निर्वाचन प्रणालीमा बदर मतको संख्या तुलनात्मक रूपमा बढी देखिँदै आएको छ । यसको कारण उम्मेदवार धेरै हुनु, मतपत्रको आकार ठूलो हुनु वा मतदान गर्दा हुने सामान्य त्रुटि मानिँदै आएको छ । तर यसपटक प्रतिनिधि सभा निर्वाचनमा प्रयोग भएको मतपत्र अत्यधिक जटिल थिएन । यस्तो अवस्थामा पनि उल्लेख्य मात्रामा मत बदर हुनु चिन्ताजनक पक्ष हो ।

navjiwan hospital

यसको प्रमुख कारणमध्ये एक मतदाता शिक्षा प्रभावकारी हुन नसक्नु हो । निर्वाचन आयोगले चुनावअघि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने, स्वयंसेवक परिचालन गर्ने तथा नमूना मतपत्रमार्फत अभ्यास गराउने प्रयास गर्दै आएको छ । तर यस्ता कार्यक्रम सबै समुदायसम्म समान रूपमा प्रभावकारी ढंगले पुग्न सकेका छैनन् । विशेषगरी दुर्गम क्षेत्र, कम साक्षरता भएका समुदाय तथा पहिलोपटक मतदान गर्ने मतदातासम्म मतदान प्रक्रियाबारे पर्याप्त जानकारी पुग्न नसक्दा मतदान गर्दा गल्ती हुने सम्भावना बढ्ने गरेको देखिन्छ ।

त्यससँगै मतदान प्रक्रियालाई अझ सरल र मतदाता–मैत्री बनाउनुपर्ने आवश्यकता पनि देखिन्छ । कतिपय मतदाताले एकभन्दा बढी ठाउँमा छाप लगाउने, तोकिएको कोठाभन्दा बाहिर छाप पर्ने वा मतपत्रमा अन्य चिन्ह बनाउने जस्ता कारणले मत बदर हुने गरेका छन् । यस्ता समस्याले मतदाता शिक्षासँगै निर्वाचन व्यवस्थापनमा पनि सुधार आवश्यक रहेको संकेत गर्छ ।

अब आगामी दिनमा हुने निर्वाचनमा बदर मतलाई न्यूनतममा झार्ने लक्ष्य राखिनुपर्छ । त्यसका लागि मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउनु आवश्यक छ । यस्तो शिक्षा चुनावको केही दिनअघि मात्रै सीमित नराखी विद्यालय, समुदाय र स्थानीय तहमार्फत निरन्तर नागरिक शिक्षाको रूपमा सञ्चालन गर्नुपर्छ ।
त्यसैगरी अहिलेको डिजिटल युगलाई ध्यानमा राख्दै मतदान प्रणालीलाई क्रमशः आधुनिक बनाउने विषय पनि गम्भीर रूपमा सोच्नुपर्ने समय आएको छ । सुरक्षित र पारदर्शी इलेक्ट्रोनिक वा अनलाइन मतदान प्रणाली विकास गर्न सकिएमा मानवीय त्रुटिका कारण हुने बदर मतको समस्या घटाउन सकिन्छ । यसले मतदान प्रक्रियालाई अझ सहज, छिटो र विश्वसनीय बनाउन मद्दत पु¥याउन सक्छ ।

लोकतन्त्रमा मतको मूल्य अमूल्य हुन्छ । हजारौं मत बदर हुनु भनेको हजारौं नागरिकको आवाज हराउनु हो । त्यसैले भविष्यमा मत बदर हुन नदिन अहिले देखिनै ठोस योजना निर्माण गरी कार्यान्वयनमा लैजानु आवश्यक छ । प्रत्येक नागरिकको मत सही रूपमा गणनामा समेटिए मात्रै लोकतन्त्रको वास्तविक सार्थकता सुनिश्चित हुनेछ ।