अत्तरिया – रामारोशन प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। यो क्षेत्रमा रहेका हरियाली जंगल, खुला मैदान र तालहरूको मनमोहक दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्छ।
समुद्री सतहबाट करिब २ हजार ५० मिटर देखि ३ हजार ७९२ मिटरको उचाइमा अवस्थित रामारोशन क्षेत्रलाई सुदूरपश्चिमको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा लिइन्छ।


रामारोशन गाउँपालिका-६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ । बाह्र बण्ड भनेको यहाँ रहेका १२ ताललाई जनाउँछ भने अठार खण्ड यहाँ रहेका १८ वटा चौरलाई जनाउँछ । यहाँ रहेका तालमध्ये जिगंले ताल, बटुल्ला ताल र रोसन मैदान प्रमुख मानिन्छन्।


यी तालहरूको स्वच्छ पानी, वरिपरिका हरियाली डाँडा र शान्त वातावरणले घुम्न आउनेलाई लोभ्याउने गरेको छ। हाल मौसम अनुकूल रहेकाले यहाँ पुग्ने आन्तरिक पर्यटकको संख्या पनि बढ्दै गएको स्थानीयले बताएका छन्। विशेषगरी युवा पुस्ता बाईक तथा पैदल यात्रामार्फत यहाँ पुग्ने क्रम बढ्दो छ। यसले स्थानीय व्यवसायमा समेत सकारात्मक प्रभाव पार्न थालेको छ।

यद्यपि, यहाँ पुग्ने सडक अझै पूर्ण रूपमा व्यवस्थित नभएकाले यात्रा गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ। सुदूरपश्चिम प्रदेशको प्रख्यात पर्यटकीयस्थल रामारोशन जोड्ने जयगढ देखि रामारोशन सम्मको सडक निर्माणको लागि ठेक्का भएपनी निर्माणमा ढिलाई हुँदा अझै कालोपत्रे हुन सकेको छैन ।





















