अछाम – पहाडी जिल्ला अछाममा लागूऔषधसम्बन्धी अपराधका घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार पछिल्ला दुई आर्थिक वर्षमा लागूऔषधसम्बन्धी १९ मुद्दा दर्ता भएका छन् भने २५ जना पक्राउ परेका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा नौ मुद्दामा १२ जना र २०८२/८३ मा १० मुद्दामा १३ जना पक्राउ परेका थिए । चालु आर्थिक वर्ष २०८३/८४ मा समेत तीन मुद्दा दर्ता भई तीन जना पक्राउ परिसकेका छन् ।

प्रहरीका अनुसार लागूऔषध कारोबार तथा सेवनमा युवाहरू बढी संलग्न देखिएका छन् । साथीभाइको सङ्गत, देखासिकी र मानसिक तनावका कारण युवा पुस्ता यसको जोखिममा परेको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी पविन्द्र बमले बताए ।
अछाममा ठूलो परिमाणमा लागूऔषध भित्रिने अवस्था नरहे पनि सानो परिमाणमा ओसारपसार र सेवन भइरहेको उनले बताए । प्रहरीले नियन्त्रणसँगै विद्यालय, स्थानीय तह र विभिन्न सङ्घसंस्थासँग समन्वय गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
















