म जन्मे तिम्रो लागि
म बाँचे तिम्रो लागि
म कुहिंदै छु तिम्रो लागि
माटो बन्दै छु तिम्रो लागि ।
गर मेरो प्रयोग
जसरी जसरी सक्छौ ।
गर मेरो उपयोग
जून रुपमा सक्छौ ।
एक दिन तिमी पनि
तरुनबाट बयस्क अनि बृद्ध हुने छौ,
तिमी पनि गल्ने छौ
तिमी पनि खरानी बन्ने छौ ।
पञ्चभूतमा मिल्ने छौ
म तिमीलाई साथ दी रहने छु
आस दी रहने छु ।
एक पटक म पनि तरुन थिए
फूल दिए तिमीलाई
सिउरनका लागि
तिम्रो देवता पुज्नका लागि
तिम्रो श्रध्देय
गलाको शोभा बन्नका लागि
प्रवेशद्वार सजाउनका लागि
आफन्तको लाशको हार बने
चिहान सम्म जली जली
राख हुन सम्म ।
म फल बने
तिमीले ढुङ्गा हानी खसालेर
काँचो देखि पाकुन्जेल सम्म
बेस्सरी उपभोग गरेउ
आफन्तलाई उपहार दियौं

बजारमा बिक्री गरेउ
पैसाले इच्छा भोग गरेउ ।
न बिर्स मलाई
जब म हराभरा भएर
यौवन कालमा थिए
मनपरी उपयोग गरेउ
मेरा हरिया स्याउला काटेर
बाखा खुवायौ, गाई पालेउ
मेरा पत्कर उनका लागि
ओछ्यान लगायौं
दूध–दही अनि घिऊ खायौं
आफु खायौं अनि आफ्ना
देव पितृ अघायौं
बजार पुगायौं
मेरो छत्र छायामा
जेठको टन्टलापुर घाममा
तिमी बसेउ तिम्रा बसे
बटुवाहरूको आश्रय दाता बने
चरा चुरुङ्गीको
बास स्थान बने
चरीबरी हुर्काउने
गुँडको आधार बने ।
ये मान्छे १
तँ बसेको घरको
धुरी हेर दलान हेर
तिमी बस्ने मेच अनि
आलिसान पलङ्ग हेर
तिम्रो बाउले धारिलो
बन्चरोले
मेरो उम्र न ढल्दै
टुक्रा टुक्रा पारेको सम्झ
आरा मुनि चिरेर
मन चाहेका फलेक बनाउँदा
भुसा पनि बनेको थिएं
माटो सित मिलेर
मलखाद बनेको थिए
पुनः तिम्रै लागि
जीवन दाइ अन्नबाली
उम्राएको थिए ।
तिम्रो गोठको किलो बनेर
गाई–गोरु थनक्याइ दिएको
मकैका झुत्ता थनक्याउने
लुट्याठ बनी दिए ।
बाउसो अनि हँसियाको
बिंड बनेको म नै हुँ
तामदानी बनेर
सेवा सुविधा गरेकै छु ।
मेरा हात पाखुरा काटेर
दाउरामा उपयोग गरेउ
चुलोमा बालेर
रोटी भात पकाई
आफ्नो अनि लालाबालाको
भोक शान्त पारेको न बिर्स
मेरो खरानीले तिम्रा
देव कलस अनि पुजा थाली
चम्काएको सम्झ
जुठा भाँडा स्वच्छे सफा
मलाई नै घोटी–घाटी बनायौं
हिँउदमा जाडोले ठिटुरिदा
आफू पोलिएर ऐ मान्छे
न्यानो दिएको सम्झ ।

दुई–दुई पटक पोलिएर आरनमा
गरगहना औजार बनाए
मातृभूमिको रक्षा खाँतिर
थरी थरीका हातहतियार बनाएं ।
तिमीलाई अँध्यारोमा
दियालो भएर
उज्यालो दिएको
तिम्रो अग्नी कुण्डमा
समिधा भएर खरानी हुँदैै
तिम्रो निधारको
पवित्र विभूति भएको
न बिर्स ऐ मान्छे
देवौंका देव
महादेव बनेको ।
म बाट नै
तिम्रो हजुरबाको
अर्थी बनेको
दाउरा बनेर चिहानघाटमा
दाहसंस्कार गरेर
‘म र मेरो’ भन्नेबाट
चिन्ता मुक्त गरेको
तिमी निर्गुनी भए पनि मान्छे
म कुहिदै गर्दा पनि
केही अवशेष रहदा पनि
मेरो अङ्ग प्रत्येङ्गमा
नवजीवन हुकाई जाने छु
घाँस भएर पिपल भएर
जीवन वायु दी रहने छु
तिम्रो प्रिय भोज्य भएर
च्याउँ भएर उम्री रहने छु ।
– पुरन सिह दयाल


















