काठमाडौँ – नेपाललाई बेवास्ता गर्दै भारत र चीनले लिपुलेक हुँदै व्यापार सुरु गरेका छन् । भारतबाट १६ जना व्यापारी र चार जना सहयोगीसहित २० जना व्यापारका लागि लिपुलेक हुँदै तिब्बतको तकलाकोट गएका छन् । लिपुलेक हुँदै २० जना भारतीय व्यापारी तिब्बत गएको जानकारी पाएको र त्यसबारे गृह मन्त्रालयलाई जानकारी गराइसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताए ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जिल्लाबाट आएका कुरा र सञ्चारमाध्यममा आएका विषय परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको प्रस्ट पारे । उनले भने, ‘यसको विषयमा परराष्ट्र मन्त्रालयले केही गर्दै होला ।’ यता परराष्ट्र मन्त्रालयले घटनाक्रमको बारेमा अध्ययन भइरहेको जनाएको छ । यसबारे चाँडै औपचारिक जानकारी गराउने मन्त्रालयको भनाइ छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार चीनले हाल २० जना भारतीय व्यापारीलाई तिब्बत जान अनुमति दिएको छ । भारतले १५५ वटा वस्तु आयात गर्ने र त्यसका लागि ६२ व्यापारी र ९३ जना सहयोगी तिब्बत जाने गरी निर्णय गरिसकेको छ । सोही अनुसार पहिलो चरणमा २० जना भारतीय तिब्बत पुगेका छन् ।


एएनआईसँग कुरा गर्दै भारतका सीमा व्यापार संगठनका अध्यक्ष जीवन सिंह रोन्कालीले नाका खुल्ने भएपछि सन् २०१९ देखि तिब्बतको तकलाकोटस्थित गोदाममा थन्किएका सामान ल्याउन सहज हुने बताए । ७ वर्षपछि यो मार्ग पुनः सुरु हुन लागेकामा व्यापारी तथा स्थानीय उत्साहित रहेको उनको भनाइ छ ।
एएनआईसँग कुरा गर्दै भारतका सीमा व्यापार संगठनका अध्यक्ष जीवन सिंहले सन् २०१९ को तथ्याङ्क अनुसार करिब १.९ करोड भारु बराबरको आयात र करिब १.३ करोड भारु बराबरको निर्यात भएको जनाए । अब व्यापार अझै बढ्ने उनले विश्वास व्यक्त गरे । चाडपर्वलाई लक्षित गरेर सामान ल्याउन लागिएको उनले बताए ।
चीनका विदेश मन्त्री वाङ यी एक वर्षअघि भारत भ्रमणमा गएको बेला भारत र चीनबिच लिपुलेकको बाटो हुँदै व्यापार गर्ने सहमति भएको थियो । भारतका विदेश मन्त्री एस जयशंकर र चीनका विदेश मन्त्री वाङ यीबिच छलफल हुँदा सीमा व्यापारको विषयमा सहमति भएको थियो । लिपुलेकसँगै सिप्क ला र नाथु ला सीमा व्यापार खुला गरिने सहमति भएको भारतीय विदेश मन्त्रालयलद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि २०७२ जेठमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा गएको गएको बेला चीनसँग लिपुलेकलाई व्यापारिक तथा दुई देशको तीर्थयात्री आवतजावत गर्ने केन्द्र बनाउने सहमति भएको थियो ।

















