खाेज्नुहाेस

प्रधानमन्त्री र सुदूरपश्चिमका सांसद बिच छलफल

Image

धनगढी – प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा समसामयिक राजनीति र प्रदेशको विकास निर्माणका सम्बन्धमा छलफल भएको हो ।

छलफलमा प्रधानमन्त्री शाहले निर्वाचन क्षेत्रको भ्रमणका क्रममा देखिएका समस्याबारे सांसदहरूसँग जानकारी लिएका थिए । रास्वपा सांसद केपी खनालका अनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल सञ्चालन र मेडिकल शिक्षाको अध्ययनका विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको थियो ।

attariya hospital
navjiwan hospital

यस्तै, अव्यवस्थित बसोबासी, सुकुम्बासी तथा ऐलानी जग्गाको लालपुर्जा वितरणबारे पनि छलफल भएको छ । सेती लोकमार्ग, चिसापानी–जंगलघाट सडकखण्ड, खुटिया–दीपायल सडक तथा महाकाली करिडोरको निर्माण अवस्थाबारे पनि प्रधानमन्त्रीले प्रदेशका सांसदसँग जानकारी लिएका थिए ।

कैलाली र कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापन, सडक दुर्घटना न्यूनीकरण, तटबन्ध निर्माण, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना तथा अन्य स्थानीय समस्याबारे पनि सांसदहरूले जानकारी गराएका थिए ।

साथै, भन्सारसम्बन्धी समस्या, आरक्षपीडित, हुलाकी सडक, किसानका लागि धान खरिद–बिक्री तथा दोधारा–चाँदनी क्षेत्रमा नदी कटानका विषयमा पनि उनीहरूले प्रधानमन्त्रीसमक्ष कुरा राखेका थिए ।

प्रधानमन्त्रीसँगको छलफलमा रास्वपा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली, केपी खनाल तथा कांग्रेस सांसद जनकराज गिरीलगायत सहभागी थिए ।