खाेज्नुहाेस

जग्गा प्राप्ती नहुँदा धनगढी बसपार्कको योजना अलपत्र

Image

धनगढी – धनगढी उपमहानगरपालिकाले निर्माण गर्ने भनेको बसपार्कको योजना अलपत्र परेको छ । धनगढी उपमहानगरपालिका – ३ मा अत्याधुनिक बसपार्क निर्माण गर्ने योजना अघि बढाए पनि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया प्रदेश सरकारमै रोकिँदा योजना अलपत्र परेको हो ।

धनगढी उपमहानगरपालिकाले सो क्षेत्रमा बसपार्क निमार्ण गर्ने भनेर ३ वर्ष अघि नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सार्वजनिक गरेको थियो । डीपीआर अनुसार प्राविधिक तथा प्रशासनिक अध्ययन पूरा गरेर जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाइएको भएपनि जग्गाको स्वामित्व प्राप्त गर्न नसकेपछि काम रोकिएको हो ।

attariya hospital
navjiwan hospital

नगर प्रमुख गोपाल हमालका अनुसार बसपार्क निर्माणका लागि आवश्यक जग्गाको स्वामित्व प्राप्त गर्न धनगढी उपमहानगरपालिकाले वन मन्त्रालयमा विभिन्न मितिमा पत्राचार गरेको थियो । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित फाइल संघीय वन मन्त्रालयमा पठाइएको थियो । हाल उक्त फाइल संघीय वन मन्त्रालयबाट वन विभाग हुँदै सुदूरपश्चिम प्रदेशको वन मन्त्रालयमा पुगेको छ ।

उनले वन ऐन संशोधनपछि जग्गा प्राप्तिको प्रक्रिया प्रदेश सरकारको निर्णयसँग जोडिएको बताए । उनका अनुसार अब सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्ले धनगढी उपमहानगरपालिकाको प्राथमिकताको योजनाका रूपमा बसपार्क निर्माणलाई स्वीकृत गर्ने निर्णय गरी फाइल पुनः संघीय वन मन्त्रालयमा पठाउनुपर्ने कानुनी व्यवस्था छ । त्यसपछि संघीय मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै बसपार्क निर्माणका लागि आवश्यक जग्गा प्राप्त हुने छ ।

तर प्रदेश सरकारबाट मन्त्रिपरिषद्को आवश्यक निर्णय हुन नसक्दा फाइल प्रदेशमै रोकिएको र त्यसकै कारण बसपार्क निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको नगर प्रमुख हमालले बताए । उनले धनगढीलाई आधुनिक, व्यवस्थित तथा सुदूरपश्चिमको पहिचान झल्किने बसपार्क निर्माण गर्ने लक्ष्य रहेको उल्लेख गर्दै प्रदेश सरकारले आवश्यक निर्णय गरी प्रक्रिया छिटो अघि बढाइदिन आग्रह गरेका छन् ।