काठमाडौँ – मोटरसाइकल दुर्घटनामा घाइते भएका सहयात्रीको हत्या गर्ने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत साउन १५ गते राति करिब २ बजे बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु.प्र.००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका–४ तिनाडी स्थायी घर भई हाल ठाकुरबाबा नगरपालिका–७ कालीगौडी बस्दै आएका अन्दाजी २० वर्षीय गोविन्द जैसी घाइते भएका थिए । सोही दुर्घटनापछि मोटरसाइकलको पछाडि सवार ठाकुरबाबा नगरपालिका–९ बेथहनी गाउँका २७ वर्षीय आसाराम थारु सम्पर्कविहीन भएका थिए ।

घटनाको अनुसन्धानका क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा आसाराम थारुको शव फेला परेको थियो । प्रहरी अनुसन्धानबाट दुर्घटनापछि घाइते अवस्थामै रहेका आसाराम थारुलाई उद्धार गर्नुको सट्टा चालक गोविन्द जैसीले हत्या गरेको खुलेको छ ।
जैसीले निर्माणाधीन घरको सटरिङको काठ र मोटरसाइकलको चाबीले प्रहार गरी मृतकले लगाएको माला वा डोरीले घाँटी कसी हत्या गरेको र शव सिँचाइ नालामा फालेर फरार भएको अनुसन्धानबाट पुष्टि भएको छ । घटनामा संलग्न गोविन्द जैसीलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















