धनगढी– कैलाली बहुमुखी क्याम्पस (केएमसी) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का सन्तोष पन्त निर्वाचित भएका छन । शुक्रबार सम्पन्न अन्तिम मतपरिणाम अनुसार पन्त ८२७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन । उनका प्रतिष्पर्धी अखिल (क्रान्तिकारी) का पवन सुनारले ५५८ मत प्राप्त गरे ।
वर्तमान सभापति रहेका अनेरास्ववियुका यमराज जोशीले भने ४२७ मत ल्याए । अध्यक्षमा निर्वाचित पन्त जोशीको कार्यसमितिमा सचिवमा निर्वाचित भएका थिए । यस्तै, एकीकृत समाजवादी निकट अनेरास्ववियूका उम्मेदवार सुनिलराज जोशीले ६८ र नेविसंघकी बागी उम्मेदवार अम्बिका चौधरीले ९२ मत प्राप्त गरे ।


सचिव पदमा पनि नेविसंघका ओमप्रकाश वस्ती विजयी भएका छन । नेविसंघले अध्यक्ष र सचिव मा विजय हासिल गर्दा कोषाध्यक्ष पदमा पनि पराजित हुनु प¥यो । कोषाध्यक्षमा नेविसंघकी उम्मेदवार प्रमिला शाह ४ मतले पराजित भईन ।
नेविसंघका उम्मेदवारलाई पराजित गर्दै अखिल (क्रान्तिकारी) का धर्मराज तिमल्सीनाले कोषाध्यक्षमा बाजि मारे । क्याम्पसमा कूल ३५०० बढी विद्यार्थी मतदाता रहेकोमा हालै सम्पन्न मतदानमा २,०५७ मत खसेको थियो । केएमसीमा हालसम्म १४ जना सभापति निर्वाचित भइसकेका छन् । तीमध्ये ७ जना नेविसंघ, २ जना नेविसंघकै बागी र ५ जना अनेरास्ववियुबाट निर्वाचित भएका थिए ।
नेविसंघले केएमसीमा लामो समयपछि आफ्नो पुनरागमन गर्न सफल भएको हो । यसअघि नेविसंघले २०४७ सालमा तपराज जोशीको नेतृत्वमा सभापति जितेको थियो । त्यसपछि २०५३ मा हरि रेग्मी र २०५५ मा प्रकाश बोगटी बागी उम्मेदवारीमार्फत विजयी भएका थिए । त्यसबाहेक हालसम्म नेविसंघले केएमसीमा जित्न सकेको थिएन ।
तर यो पटक नेविसंघले बहुमतका साथ आफ्नो पुनरागमन गरेको छ । निर्वाचनमा कोषाध्यक्ष बाहेकका सबै पदहरुमा नेविसंघका उम्मेदवार विजयी भएका छन । २०५१ सालदेखि २०७९ सालसम्म स्ववियु सभापतिमा अनेरास्ववियुले विजय हात पारिरहेकोमा यो पटक नेविसंघले लामो समयपछि आफ्नो वर्चस्व पुनः स्थापित गरेको हो । सुदूरपश्चिम क्षेत्रमै सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत यस क्याम्पसमा नेविसंघको यो विजय ऐतिहासिक मानिएको छ ।

















