अत्तरिया – २०७९ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा भुवन महरालाई नेपाल विद्यार्थी संघबाट सभापतिको टिकट पाउनै हम्मे हम्मे परेको थियो । अन्तिम समयमा टिकट पाए पनि उनलाई नेविसंघबाटै उठेका बागी उम्मेदवारले चुनौती दिएका थिए । चुनौतीका बिच उनले कुल खसेको ८७४ मत मध्ये ३७४ मत पाएर विजयी भए । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्ववियु सभापतिका लागि उनी सहित ५ विद्यार्थी प्रतिस्पर्धामा उत्रिएका थिए ।

एक कार्यकाल पुरा गरेका महरालाई यस पटक भने टिकट पाउन त्यति गाह्रो भएन । तर, यस पटक अघिल्लो चुनावमा हार चाखेका विद्यार्थी संगठन एक भएर चुनावमा होमिएकाले महरालाई जित निकाल्न ठुलो चुनौती थियो । जसमा अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका ५ संगठन आबद्ध थिए ।

तर, यस पटक उनी अघिल्लो चुनाव भन्दा बढी ४४१ मत ल्याएर विजयी भएका छन । निर्वाचनमा उनका प्रतिस्पर्धी संयुक्त अखिलका बम बहादुर बिश्वकर्माले ३७८ मत प्राप्त गरे ।

यो सँगै स्थापनाकालदेखि कै नेविसंघको गढ भत्काउने यस पटकको अवसर पनि अन्य विद्यार्थी संगठनले गुमाएका छन् । यद्यपि आफ्नो व्यक्तिगत लोकप्रियताका कारण संयुक्त अखिलका उम्मेदवार बमले आफ्नो प्यानलबाट सबैभन्दा बढी मत ल्याएका थिए ।
अगेन ज्योति पपुलर
सुरुमा सभापतिकै उम्मेदवारका रूपमा अघि सार्ने प्रयास गरिएकी ज्योति साहुले भने स्ववियु सचिवमा पपुलर मत पाएकी छिन् । नेविसंघबाट सभापतिका लागि राखिएको प्रस्ताव आफै अस्वीकार गरेर सचिवमा लडेकी उनले ४७४ मत पाएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी संयुक्त अखिलका गणेशनाथ योगी ३२६ मत पाए । ७५ प्रतिशत छात्रा अध्ययनरत दुर्गालक्ष्मीमा ज्योति छात्रा बिच पपुलर थिइन् । २०७९ को स्ववियु निर्वाचनमा कोषाध्यक्षमा लडेकी ज्योतीले उतिबेला पनि पपुलर (४०८) मत पाएकी थिइन् ।
त्यस्तै, कोषाध्यक्षमा पनि नेविसंघकी उम्मेदवार सोनिया शाहले ४४५ मत ल्याउँदै निर्वाचित हुँदा उनकी प्रतिस्पर्धी दीपिका जोशीले ३५१ मत ल्याइन ।
सदस्य पदमा पनि नेविसंघका उम्मेदवार बिपना कुँवर, विष्णु नेगी, तारा कुमारी भट्टराई, रोजिना खड्का, गोविन्द सिंह महरा, महेन्द्र खत्री, विवेक डगौरा, कल्पना साउँद विजयी भएका छन् । समानुपातिकमा संयुक्त अखिलले ३६० र नेविसंघले ४६६ मत ल्याएको छ । समानुपातिकको नतिजा अनुसार कुल ८ मध्ये ३ सदस्य संयुक्त अखिल र ५ सदस्य नेविसंघले पाउने निर्वाचन अधिकृत लोक बहादुर महराले बताएका छन् । दुर्गालक्ष्मीमा बुधवार भएको निर्वाचनमा कुल ८३१ मत खसेको थियो ।
दुर्गालक्ष्मीको नवनिर्वाचित स्ववियु समितिले निकाल्यो विजय र्याली