धनगढी – नेपाली कांग्रेसबाट कारबाहीमा परेर नेपाली कांग्रेस (वीपी) मा गएका कर्ण मल्ल राजावादी आन्दोलनमा मिसिएका छन् । कांग्रेस (वीपी) का उपसभापति रहेको डडेल्धुराका मल्ल राजसंस्था र हिन्दू राज्य पुर्नस्थापनका लागि डा. जगमान गुरुङको नेतृत्वमा गठित आन्दोलनमा सहभागी हुने प्रतिवद्धता जनाएका हुन ।
समितिले बुधाबार काठमाडौँमा आयोजना गरेको प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रममा सहभागी भएका मल्लले आन्दोलनमा सहभागी हुने प्रतिवद्धता जनाएका हुन् ।



अहिलेका शासकहरुले नेपालको पहिचान र धर्म मासिरहेको भन्दै मल्लले राजा ज्ञानेन्द्र शाह नेतृत्वमा आन्दोलन सफल हुने विश्वास व्यक्त गरे ।
उनले देउवाले राजावादी भएकै कारण आफूलाई पार्टीबाट निकालेको बताएका छन । ‘म कांग्रेसमै हुँदादेखि राजावादी थिएँ । राष्ट्रवादी भएकैले मलाई देउवाले पार्टीबाट निकालेका हुन्,’ उनले भने, ‘अहिले हामी फेलियर स्टेट (असफल राष्ट्र)मा छौँ । यहाँ न्यायपालिकाकाले काम गर्न सकेको छैन, सरकार सरकारजस्तो छैन । राज्यका कुनै पनि अंंगले काम गर्न सकेका छैनन् ।’ उनले देश जोगिए राजावादी वा लोकतन्त्रवादी हुन पाइने भन्दै आफू देश जोगाउने अभियानमा लागेको दाबी गरे ।
मल्ल २०७९ सालको प्रतिनिधिसभा निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्व लडेका थिए । उनी निर्वाचनमा तेस्रो भएका थिए ।
