धनगढी – कैलालीको धनगढीमा आयोजित ‘दलित सामाजिक मञ्च’ मा दलितका सवालका विषयमा छलफल गरिएको छ । मंगलबार सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रमुख आतिथ्यतामा उद्घाटन भएको एक समारोहमा विभिन्न प्यानल दलितका सवालका विषयमा छलफल गरिएको हो ।
जसअन्तरगत समानुपातिक समावेशिताका लागि संविधान ऐन कानुनमा गरिएका व्यवस्था र सुदूरपश्चिममा समानुपातिक समावेशिताको अवस्था, जातीय छुवाछुतको अन्त्य र दलित समुदायको सशक्तीकरणका लागि राज्यले बनाएका ऐन कानुन र संरचना कार्यान्वयनको अवस्था, सुदूरपश्चिममा जातीय छुवाछुतको अवस्था र राज्यले खेलिरहेको भूमिका र महिला, दलित महिला, बालबालिका लगायत पछाडि पारिएका दलित समुदायको राज्यले सशक्तीकरणका लागि प्रदेश सरकार र स्थानीय सरकारका नीति कार्यक्रम र बजेटमा गरेका व्यवस्था र यसमा दलित समुदायको पहुँचको विषयमा छलफल गरिएको आयोजक दलित विकास सेवा केन्द्रका अध्यक्ष टेक विकले बताए ।

समारोहको उद्घाटन सत्रमा बोल्दै सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले छुवाछुत र विभेदमुक्त समाज बनाउन आवश्यक रहेको बताए । उनले विभेद र छुवाछुत अन्त्य नहुँदासम्म समाज र देशको विकास हुन नसक्ने बताएका थिए । दलित समुदायका लागि संविधानमा पर्याप्त अधिकारहरू दिइएको भन्दै अधिकार कार्यान्वयनमा सबै जिम्मेवार बन्न आवश्यक उनले बताए । ‘छुवाछुत र विभेद अन्त्य नहुँदासम्म मुलुकको विकास हुन सक्दैन ’ प्रदेश प्रमुखले भने ‘छुवाछुत र विभेद अन्त्य गरेर प्रदेश र देशको विकास गर्नु तपाइ हाम्रो जिम्मेवारी हो ।’


प्रदेश प्रमुख मियाँले आफू संविधानको रक्षा गर्ने जिम्मेवारीमा रहेको र संविधानमा पनि छुवाछुत मुक्त समाजको परिकल्पना गरेको हुँदा छुवाछुत र विभेद अन्त्य गर्न पनि आफ्नो भूमिका हुने स्पष्ट वारेका थिए । उनले जात वा धर्मका नाममा गरिने विभेद कानुनी रुपमा पनि दण्डनीय रहेको बताए ।
प्रदेश सरकारका अन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले समाजमा पछिल्लो समय जातीय विभेद कम हुँदै गए पनि अझै अन्त्य भने हुन नसेकेको बताए । उनले समाजलाई विभेदमुक्त बनाउनु पर्नेमा जोड दिएका थिए । छुवाछुत दण्डनीय रहेको भन्दै त्यस्तालाई कारबाही हुने समेत उनले बताए ।
सामाजिक विकास मन्त्री मेघराज खड्काले दलित अधिकार स्थापित गर्ने गरि कानुन निर्माणको तयारी भइरहेको बताए । कार्यक्रममा पूर्व मन्त्री तथा प्रदेश सांसद लक्ष्मी विक, प्रदेश सभा सदस्य ललिता सुनार लगायतले विभेद र छुवाछुत अन्त्यका लागि सबै लाग्नु पर्ने बताएका थिए । त्यस्तै अम्बिका ताम्राकार, साबित्रा घिमिरे, प्रेम विक, देवी खनाल, खडकराज जोशी, राजु तिरुवा सविता सुनार, कृष्ण प्रसाद जैशी, ओमप्रकाश पुन लगायतले विभेदमुक्त समाज निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।



















