अत्तरिया – हेमा श्री फाउन्डेसन नेपालले अछामको साँफेबगर नगरपालिका – १३ बावलामा रहेको जाल्पादेबी आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा नगरपालिका – ६ कैलालीले सो विद्यालयमा अध्ययनरत विपन्न, आर्थिक अवस्था न्यून भएका, एकल परिवारका ३५ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
जसअन्तर्गत विद्यार्थीलाई झोला, कापी र कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले बताए ।


शैक्षिक सामाग्री पाएपछि विद्यार्थीहरू हर्षित भएका थिए । वडा अध्यक्ष रूप बहादुर कुँवरले आर्थिक स्थिति कमजोर भएका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गरेकोमा फाउन्डेसन प्रति धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा पनि फाउन्डेसन सँग समन्वय र सहकार्य गर्न वडा तत्पर रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर विष्टको अध्यक्षतामा सम्पन्न शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष रूप बहादुर कुँवर, विशिष्ट अतिथि वडा सदस्य बिरु सुनार, हेमा श्री फाउन्डेसन नेपाल कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) रहेका थिए ।
कार्यक्रममा युवा व्यवसायी टेक बहादुर बटाला, पुष्प बटाला, पृथ्वी बटाला, शिक्षक–शिक्षिका, फाउन्डेसनका पदाधिकारी, अभिभावक लगायत विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत सहितको शुभकामना मन्तव्य शिक्षक कालु विष्टले गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक उमाकान्त जोशीले गरेका थिए ।



















