अत्तरिया – कञ्चनपुरमा भएको अति भारी वर्षाबारे विज्ञको टोलीले अध्ययन गरेको छ । असार २४ गते मापन गरिएको अति भारी वर्षाको अध्ययन गर्न जल तथा मौसम विज्ञान विभागले असार २७ गते विज्ञ टोली खटाएको थियो ।

उक्त टोलीले स्थलगत अध्ययन सकेर प्रतिवेदन (रिपोर्ट) तयार गरिरहेको महाकाली बेसिन कार्यालय अत्तरियाका प्रमुख ई. सञ्जयकुमार साहले बताए । उनले प्रतिवेदन एक साता भित्र मै सार्वजनिक हुन बताए । विभागले मौसम विद् डा. इन्दिरा कँडेलको नेतृत्वमा स्थलगत अध्ययन अवलोकन र उपकरण परीक्षण गर्न टोली खटाएको थियो ।

टोलीमा जल तथा मौसम विभागका शान्ति कँडेल, सुदर्शन हुमागाईँ र महाकाली बेसिनका प्रमुख साह पनि सहभागी थिए । टोलीले अध्ययनका क्रममा स्थानीय सँग पनि छलफल गरेको थियो ।
असार २४ गते बिहान ८ः४५ मा प्रारम्भिक तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा दोधारा चाँदनी वर्षा केन्द्रमा ६२४.० मिलिमिटर र हनुमान नगर वर्षा केन्द्रमा ५७३.६ मिलिमिटर र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मिलिमिटर वर्षा मापन गरिएको थियो ।

जुन नेपालको इतिहासमै अहिले सम्मकै धेरै हो । यस अघि नेपालमा २०७४ साउन २९ गते हेटौडा केन्द्रमा सबभन्दा धेरै ५१६.२ मिलिमिटर वर्षा मापन गरिएको थियो ।
मौसम विज्ञान विभाग यसअघि असार २५ गते एक प्रेस विज्ञप्ति जारी गर्दै पश्चिमी वायुको न्यूनचापिय रेखा सक्रिय रही अरब सागर तथा बङ्गालको खाडी दुबैबाट आउने जलवाश्पयुक्त हावा सो स्थानमा समिश्रण भई अति भारी वर्षा भएको बताए पनि त्यसलाई आधिकारिक पुष्टि गर्न विज्ञ टोली फिल्डमा खटाइएको थियो ।