अत्तरिया – कैलालीको गोदावरीका मेयर वीरेन्द्र भट्टले समाचार लेखेको विषयमा धम्कीपूर्ण अभिव्यक्ति दिएका छन् । अत्तरिया अनलाइनले बिहीबार प्रकाशित गरेको समाचारका विषयमा ‘सुदूर खबर’ नामक अनलाइन मार्फत खण्डन गर्दै उनले धम्कीपूर्ण अभिव्यक्ति दिएका हुन ।
उनले भिडियोमा भनेका छन् ‘म मेयरको पदमा छु जिम्मेवार पदमा छु । मैले बिर्सिन नपरोस् की म मेयर हो । पत्रकार साथीहरूले पनि आफूले नराम्रो काम नगर्ने कहिलेकाहीँ वहाँलाई पनि हामीले यो पत्रकार हो भनेर चाही बिर्सनुपर्ने अवस्था नआओस् ।’


अत्तरिया अनलाइनले बिहीबार ‘गोदावरीको निःशुल्क शव वाहनले शव बोकेबापत लियो २ हजार शुल्क’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार गलत भएको भन्दै मेयर भट्टले धम्कीपूर्ण अभिव्यक्ति दिएका हुन ।
कुनै समाचारमा चित्त नबुझे कानुनी प्रावधान हुँदा हुँदै मेयर भट्टले भने आफै पदको दुरुपयोग गर्दै धम्कीपूर्ण अभिव्यक्ति दिएका छन् । साधारणतया, समाचारको तथ्य वा त्यससँग सम्बन्धित कुनै विषयमा शङ्का, उपशङ्का लागे प्रेस काउन्सिलमा उजुरी दिन सकिन्छ। प्रेस काउन्सिल मिडियाको अनुगमन गर्ने निकाय हो।
प्रेस काउन्सिल ऐन २०४८ अनुसार मिडियासम्बन्धी सबै गुनासो र उजुरी काउन्सिलले सम्बोधन गर्छ। अनुगमनपछि समाचारको तथ्य गलत भए सच्याउन लगाउने, खण्डन गर्न लगाउने वा कारबाही गर्ने दायित्व उसैको कार्यक्षेत्रभित्र पर्छ। उसले गरेको कारबाही चित्त नबुझे कानुनी प्रक्रियामा जान सकिन्छ।
यी सबै कानुनी प्रक्रियाहरू रहँदारहँदै मेयर भट्टले सबै कानुन आफ्नो हातमा लिदै धम्कीपूर्ण अभिव्यक्ति दिएका छन् ।


















