प्रदिप मलासी,बझाङ – बझाङका विपन्न महिलाहरुलाई ७ दिने तरकारी खेती तालिम दिइएको छ । सामाजिक विकास कार्यालय बझाङले महिला सशक्तिकरण कार्यक्रम अन्तरगत विपन्न महिलाहरुलाई तरकारी खेती तालिम दिएको हो ।

तालिममा जयपृथ्वी नगरपालिका – ३ का महिलाहरुको सहभागिता रहेको थियो । तालिममा नेतृत्व विकास, उद्यमशिलता र व्यवशायिक मौसमी तथा बेमौषमी तरकारी खेती सम्बन्धि जानकारी दिइएको सामाजिक विकास कार्यालय प्रमुख प्रयागराज जोशीले बताए ।

शनिबार सम्पन्न तालिमको समापन कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले महिलाहरुलाई सशक्त बनाउन कृषि व्यवशायका रुपमा स्थापित गर्नु पर्ने बताए ।
जयपृथ्वी नगरपालिकाको समन्वयमा संचालन गरिएको तालिममा २५ जना महिला सहभागी रहेका थिए । तालिममा सहभागिलाई प्रतिव्यक्ति २० हजार बीउपुजी रकम दिइने जनाइएको छ ।


















