कुनै पनि समाज वा सभ्यताको स्तर कति उच्च छ भन्ने कुरा समाजका मानिसहरूको जीवन शैली, संस्कृति, पहिरन एवं विभिन्न संस्कारमा लगाइने गहनाहरूबाट थाहा पाइन्छ । परम्परागत पहिरनले समाजमा संस्कारको विकास गराउँछ । संस्कारबाट व्यक्तिको घर परिवार र समाजको अवस्था चित्रण गर्न सकिन्छ ।
कला र संस्कृतिको भण्डारका रुपमा सुदूरपश्चिमलाई लिने गरिन्छ । विभिन्न किसीमका परम्परागत पहिरनहरुले सुदूरपश्चिमको आर्कषणलाई थप उचाईमा पु¥याउने काम गर्छ । यस क्षेत्रको लोक जीवनलाई अध्ययन गर्ने हो भने लैङ्गिक आधारमा पुरुषहरुले भोटो, कुर्ता, सुरुवाल, धोति, बनियान, टोपी, पगड़ी जस्ता पहिरन लगाउथे भने महिलाहरुले गून्यु, चोलो, घागरो, आङडोÞ, पिछौड़ो, चौपन्द्या, फेटो जस्ता पहिरनहरु लगाउँथे । यस्ता पहिरनहरु स्थानीय स्तरमै निर्माण हुने गर्दथे । त्यतिमात्रै नभई पञ्चेबाजा, दमाहा आदी बजाउनेहरुले समेत यहाँ पहिरनमा झकुला लगाउने गर्दथे ।

तर, अहिले अवस्था फेरिएको छ । परम्परागत रुपमा लगाईने त्यस्ता पहिरनहरु अहिले भेटिदैनन् । समाज आधुनिकतातिर लम्किदै गर्दा विगत बिर्सिइदैछ । विगतको त्यो पहिरन लगाउनेहरुले बनाएको समाज र अहिलेको आधुनिक प्रविधिको युगले सृजना गरेको समाज नितान्त फरक देखिन्छ । पहिरन नै संस्कारको उपज हो भन्ने कुरा अहिलेको पुस्ताले विर्सिएको छ । त्यसैले त परम्परागत पहिरनहरु अहिले देख्न पाईदैनन् । कतै किनबेच समेत हुने गरेका छैनन् । सोमबार मात्रै कैलालीको गोदावरी नगरपालिका – १२ ले वडाका ८ जनालाई झकुला र ४ जनालाई सहनाई वितरण ग¥यो । तर झकुला भेट्टाउन आयोजकलाई हम्मे हम्मे प¥यो । कैलालीका मुख्य बजारहरु धनगढी, अत्तरियामा खोजि गर्दा पनि झकुला कतै भेटिएनन् । कतै खरिद विक्रिका लागि नभेटिएको झकुला सोही वडाका एक स्थानिय वृद्ध दर्जिलाई सिलाउन दिएर आयोजकले गर्जाे टा¥यो । ति दर्जिलाई पनि झकुला सिलाउन नआएको भए सम्भवः आयोजकको कार्यक्रम नै परिवर्तन हुन्थ्यो होला ।

वडाले परम्परागत पहिरन जोगाउन थालेको कदम पनि विफल होला भन्ने डर त्यतिबेला महसुस भयो । तर त्यसमा दोषी सरकार आफै छ । सरकारले सिलाईकटाईका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्छ, तर परम्परागत पहिरन सिलाउन सक्ने जनशक्ति बनाउन सकेको छैन । सुदूरपश्चिमको राजधानीका नामले चर्चामा आएको गोदावरी नगरपालिका भित्र यस्ता कयौँ सिलाई कटाई गर्ने पसलहरु छन, जसले अहिलेको आधुनिक परिहनलाई सजिलै सिलाउने काम गरिरहेका छन । तर त्यस्ता पसलहरुले परम्परागत पहिरन सिलाउन जानेका छैनन् ।
समाजको आधुनिकताले सुदूरपश्चिमका यस्ता कयौँ परम्परागत पहिरनहरु लोप भैसकेका छन, बाँकी रहेका केही पनि लोप हुने अवस्थामाम पुगिसकेका छन ।
सरकारले परम्परागत पहिरनहरुको संरक्षणमा अझै सम्म कुनै पहल थालेको छैन । जसले गर्दा यहाँका पछिल्लो पुस्ताहरुले सुदूरपश्चिममा लगाईने परम्परागत पहिरनहरुको नाम समेत जान्दैनन् । अहिले ठाउँ ठाउँमा सिलाई कटाइ तालिम, घर घरमा लुगा सिलाउने मेसिन भए पनि परम्परागत पहिरन सिलाउन जान्ने सीप भने हराउँदै गएको छ । अहिलेका युवापुस्ताले परम्परागत पहिरन सिलाउने कुरामा चासो दिदैनन् । उनिहरुले नयाँ फेसनको मात्रै महत्व बुझेका छन, परम्परागत पहिरनको बुझेका छैनन् । उसो त सरकारले परम्परागत पहिरनको महत्व पछिल्लो पुस्तालाई बुझाउन पनि सकेको छैन । अहिलेको सरकारले नै परम्परागत पहिरनको आवश्यकता महसुस गरेको छैन ।
परम्परागत पहिरनले नै सुदूरपश्चिमलाई चिनाएको छ । मुख्य गरी यहाँको पहिरन हेर्न टाढा टाढा बाट समेत पर्यटकहरु सुदूरपश्चिम आएका उदाहरणहरु धेरै छन । यहाँका महिलाहरुले लगाउने गुन्यु चोलो पछिल्लो समय पर्यटकिय क्षेत्रहरुमा फोटो खिच्नका लागि प्रयोग गरिदै आएको छ ।
समग्रमा सुदूरपश्चिमको कला, संस्कृति र संस्कारको संरक्षण गर्ने प्रमुख दायित्व यहाँको सरकारको हो । सरकारले पछिल्लो पुस्तालाई परम्परागत पहिरनको महत्व बुझाउनका लागि योजना ल्याउन जरुरी छ । यहाँका युवापुस्तामा यहाँको मौलिक पहिरनको बारेमा जानकारी दिने र त्यसको प्रयोग गर्ने अवस्था सृजना गरी त्यस्ता परम्परागत पहिरनहरुको संरक्षण गर्ने काममा सरकारले अबेर गर्न हुदैन ।

















