अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले आज आर्थिक वर्ष २०८३/०८४ को नीति कार्यक्रम तथा बजेट ल्याउँदै छ । नगरपालिकाले असार १० गते भित्र नीति कार्यक्रम तथा बजेट ल्याइसक्नु पर्ने कानुनी व्यवस्था अनुसार आज अन्तिम दिन आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेको हो । आर्थिक वर्ष २०८३/०८४ का लागि नगरपालिकाले करिब १ अर्ब ३४ करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा ७१ (१) ले ‘गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) असार महिनाको १० गतेभित्र सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नु पर्नेछ’ भन्ने व्यवस्था गरेको छ ।
गोदावरी नगरपालिकाले विगतमा पनि निर्धारित तोकिएको समय भित्रै बजेट ल्याउँदै आएको छ । गोदावरीमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका जनप्रतिनिधि हाल पाँचौँ अर्थात् आफ्नो कार्यकालको अन्तिम बजेट ल्याउँदैछन यसअघि ४ वटा बजेट ल्याइसकेका हालका जनप्रतिनिधि आफ्नो अन्तिम कार्यकालको कस्तो बजेट ल्याउछन भन्ने चासो यस क्षेत्रका स्थानीयमा छ ।

विगत ४ वर्षमा बजेटको कुल आकारमा भने खासै ठुलो परिवर्तन भएको थिएन । हालका जनप्रतिनिधिले पहिलो आर्थिक वर्ष २०७९/८० मा १ अर्ब २५ करोड ८ लाख ५० हजारको बजेट ल्याएका थिए । त्यसपछि आर्थिक वर्ष २०८०/०८१ मा बजेट सिलिङ घटेर १ अर्ब २२ करोड ९४ लाख ७० हजारको ल्याइएको थियो भने आर्थिक वर्ष २०८१/०८२ मा पनि सोही आकारको १ अर्ब २२ करोड ३३ लाख ६५ हजारको बजेट ल्याइएको थियो । चालु आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०८२/०८३ मा बजेट सिलिङ बढाएर १ अर्ब २६ करोड ५३ लाख ५६ हजारको बजेट ल्याएका थिए ।
क्षेत्रगत हिसाबमा भने बजेटमा उतारचढाव हुँदै आएको छ । पछिल्ला आर्थिक वर्षमा आर्थिक विकास तर्फको बजेट घट्दै गएको देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ मा आर्थिक विकास तर्फ ७ करोड ७८ लाख ५० हजारको बजेट ल्याइएकोमा आर्थिक वर्ष २०८१/०८२ मा बढेर आर्थिक विकासका बजेट ८ करोड २१ लाख २८ हजार पुगे पनि आर्थिक वर्ष २०८२/०८३ मा ह्वातै घटेर आर्थिक विकासको बजेट ६ करोड ६७ लाख ७८ हजार १७८ पुगेको छ । जस अन्तरगत कृषि पशुपन्छी शीर्षकका बजेट खुम्चिँदै गएका छन् ।

सामाजिक विकास तर्फको बजेट पनि अघिल्लो आर्थिक वर्षको तुलनामा खुम्चिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सामाजिक विकास तर्फ ५८ करोड ५४ लाख २ हजारको बजेट ल्याइएकोमा आर्थिक वर्ष २०८१/०८२ मा ६१ करोड ८३ लाख ७ हजार पुगाइए पनि आर्थिक वर्ष २०८२/०८३ कुल बजेटको आकार बढ्दा पनि ६० करोड ६७ लाख ४५ हजार २५७ कायम भएको थियो । यस अन्तरगत नगरपालिकाले ठुलो बजेटको हिस्सा शिक्षा र स्वास्थ्य रहेको हुन्छ । चालु आर्थिक वर्षमा शिक्षामा ३८ करोड १८ लाख ५९ हजार ६१० र स्वास्थ्य ८ करोड ९३ लाख ७० हजार १६४ रुपैयाँ छुट्टाइएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा शिक्षामा ४४ करोड ८ लाख १३ हजार र स्वास्थ्य ८ करोड ६५ लाख ५४ हजार छुट्टाइएको थियो ।
सुशासन तर्फको बजेट पनि चालु आर्थिक वर्षमा ह्वातै घटाइएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा सुशासन तर्फ ३ करोड ७३ लाख ६२ हजार बजेट ल्याइएकोमा आर्थिक वर्ष २०८१/०८२ मा ४ करोड ६९ लाख २० हजार पुगाइए पनि आर्थिक वर्ष २०८२/०८३ मा घटेर ८४ लाख ५५ हजार ७३६ विनियोजन गरिएको थियो ।
पूर्वाधार विकासको बजेट भने अघिल्लो आर्थिक वर्षको तुलनामा बढाइएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा पूर्वाधार तर्फ २९ करोड ८१ लाख ५१ हजार बजेट विनियोजन गरिएकोमा आर्थिक वर्ष २०८१/०८२ मा घटेर २४ करोड ९६ लाख ९८ हजार विनियोजन गरिएको थियो । चालु आर्थिक वर्षमा भने बढाएर २७ करोड ८८ लाख १८ हजार ६१० पुगाइएको थियो ।
नगरपालिकाको प्रशासनिक खर्च भने ह्वातै बढेको छ । आर्थिक वर्ष २०८०/०८१ मा प्रशासनिक खर्च २३ करोड ७ लाख ५ हजार रहेकोमा आर्थिक वर्ष २०८१/०८२ मा प्रशासन २२ करोड ६३ लाख १२ हजारमा झरेको थियो । तर, चालु आर्थिक वर्ष २०८२/०८३ मा भने बढाएर ३० करोड ३६ लाख ५८ हजार २१९ विनियोजन गरिएको थियो ।
समग्रमा नगरपालिकाको बजेटको सबैभन्दा ठुलो हिस्सा शिक्षामा खर्च हुँदै आएको छ भने त्यसपछि प्रशासनिक र पूर्वाधार विकासमा खर्च हुँदै आएको छ । अघिल्लो कार्यकालमा जनप्रतिनिधिले कृषिमा बजेटको ठुलो हिस्सा खर्च गरेपछि हाल भने कृषिको बजेट खुम्चिँदै गएको छ । नगरपालिकाले पछिल्लो समय शिक्षा, पूर्वाधार विकास र स्वास्थ्यलाई प्राथमिकता दिँदै आएको छ ।

















