अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविका विद्यार्थीहरूका लागि एक महिने कपाल काट्ने तालिम सञ्चालन गरिएको छ । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तरगत कक्षा ११ र १२ का विद्यार्थीका लागि कपाल काट्ने तालिम सुरु गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक वीर सिंह महताले पढ्दै कमाएर आफ्नो पढाई खर्च र घरपरिवारलाई पनि सहयोग गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । उनले तालिम पश्चात् विद्यार्थी आफ्नो गाउँठाउ र अत्तरिया बजार क्षेत्रमा पनि काम गर्न सक्ने बताए । उनले तालिम अवधिमा विद्यार्थीले निःशुल्क कपाल काट्ने बताए ।
तालिमको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि भट्टराईले उद्घाटन गरेका थिए । तालिमको उद्घाटन गर्दै उनले हाल अत्तरिया बजार क्षेत्रमा असुरक्षित रूपमा कपाल काट्ने काम हुँदै आएको बताउँदै त्यसमा दुर्गालक्ष्मीका विद्यार्थीले सुधार ल्याउने बताए । ‘दुर्गालक्ष्मीमा विद्यार्थीले न्यूनतम सुरक्षा मापदण्ड पालना गर्दै हातमा पन्जा र मुखका मास्क लगाएर कपाल काट्ने छन्’ उनले भने ‘दुर्गालक्ष्मीका विद्यार्थीलाई देखेर अत्तरियामा बजारमा पनि कपाल काट्ने तरिकामा सुधार हुने छ ।’
उनले पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत अन्य पनि थुप्रै कार्यक्रम रहेको बताए । ‘हाम्रा परम्परागत थुप्रै बाजागाजा छन् । विद्यार्थीहरूलाई हामीले ती बाजागाजाहरूको बारेमा प्रशिक्षण दिएर दुर्गालक्ष्मीको ब्यान्ड निर्माण गर्ने योजना छ’ उनले भने ‘दुर्गालक्ष्मीका विद्यार्थीहरूलाई दुना टपरी निर्माण गर्न लगाउने, फूल उत्पादन गर्ने कार्यक्रम पनि अघि सार्ने योजना छ ।’

उनले तालिम अवधिमा एक महिना निःशुल्क तालिम दिइने भएकाले अभिभावक र विद्यार्थीलाई पनि कपाल काटेर सहयोग गरिदिन आग्रह गरे ।

तालिममा सहभागी विद्यार्थी रुपेश कुमार बस्यालले तालिम विद्यार्थीहरूका लागि एकदमै उपयोगी भएको बताए । उनले यसबाट विद्यार्थीहरूले आफूलाई आवश्यक पर्ने रकम जुटाउन सकिने भएकाले पढाइका लागि सहज हुने बताए । उनले कपाल काट्ने कामलाई पार्ट टाइमका रूपमा गर्न सकिने बताए ।
तालिममा कक्षा ११ र १२ का २५ जना विद्यार्थीको सहभागिता रहेको छ । तालिम दुर्गालक्ष्मी नमुना माविको सपिङ कम्प्लेक्समा रहेको फरमान सेलुनमा सञ्चालन हुने जनाइएको छ ।


















