बझाङ – उपनिर्वाचन भएको बझाङ क्षेत्र नम्बर १ (क) को मतगणना आज सुरु गरिँदै छ । प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार साइपाल गाउँपालिकाका साइपाल, एराङकुरी र दुलीका मतपेटिका आउन बाँकी छ । ती मतपेटिका हेलिकप्टरमार्फत् आज बिहान ८ बजेभित्र ल्याइपुर्याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने छ ।

‘हिजो मौसम खराब भएकाले हेलिकप्टर उड्न नसक्दा सबै मतपेटिका ल्याउन सकिएन,’ प्रमुख जिल्ला अधिकारी कुइँकेलले अनलाइनखबरसँग भने, ‘आज बिहान मौसम सफा भएकाले हेलिकप्टर उड्ने र मतपेटिका ल्याउने तयारी छ ।’

आज बिहान ८ बजेभित्र मतपेटिका संकलन गरिसक्ने र १० बजेभित्र मतगणना सुरु गर्ने गरी तयारी भइरहेको उनले बताए । बझाङको प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ मतदान भएको थियो ।
प्रदेश सभा सदस्यको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट जनकबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट दिलबहादुर सिंह सहित ११ जना प्रतिस्पर्धामा छन् ।















