अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका – ३ मा रहेको विद्यामन्दिर नमुना माविमा तालाबन्दी गरिएको छ । विद्यालय व्यवस्थापन समितिले मावि अन्तर्गत कृषि सङ्काय तर्फका शिक्षक तथा कर्मचारीलाई हटाउने निर्णय गरेपछि शिक्षक कर्मचारीले विद्यालयमा तालाबन्दी गरेका हुन ।

बुधवार बिहानै अतिरिक्त कक्षा अध्ययन गर्न गएका विद्यार्थीहरू तालाबन्दी भएपछि गेटबाटै घर फर्किएको विद्यालयका प्रधानाध्यापक पहल सिंह नेपालीले जानकारी दिए । तालाबन्दीका कारण विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ ।

प्राविधिक सङ्कायतर्फ कृषि जेटिए र आइएसीएजी तर्फका कक्षाहरूमा विद्यार्थी भर्ना दर न्यून रहेको बताउँदै विद्यालय व्यवस्थापन समितिले शिक्षक तथा कर्मचारी हटाउने निर्णय गरेको थियो ।
विद्यालयका प्रधानाध्यापक पहल सिंह नेपालीका अनुसार विद्यालय व्यवस्थापन समितिको निर्णय विरुद्ध विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले विद्यालयको गेटमा तालाबन्दी गरेका छन् ।


















