खाेज्नुहाेस

विपन्न नागरिकको भरोसाको केन्द्र मालाखेती अस्पताल

Image

अत्तरिया – कैलालीको बल्मीकी देवु बिक विगत ४ महिना देखि मालाखेती अस्पतालबाट उपचार सेवा लिइरहेकी छिन । पिसाब रोकिने समस्याका कारण हिँडडुल पनि गर्न नसक्ने अवस्थामा पुगेकी उनी मालाखेती अस्पतालबाट नियमित औषध सेवन गर्न थालेपछि अहिले आफै हिनेर फलोअपको लागि अस्पताल पुग्ने गरेकी छिन । भारतको सुरत, मुम्बईमा उपचार गराउँदा पनि सन्चो नभएर घरमै थन्किएकी उनले स्वास्थ्य बिमा गरेपछि मालाखेती अस्पतालबाट उपचार सेवा लिन थालेकी हुन ।

रोजगारीका सिलसिलामा भारतमा रहेका छोरा, बुहारीले त्यतै उपचार गर्न खोजेपनि निको नभएपछि उनी घर फर्किएकी थिइन् । भारतका बिभिन्न ठाउँमा भतारिएर पनि निको नभएकी विकलाई सुरुमा मालाखेती अस्पतालबाट निको नै हुन्छ भन्ने भरोसा थिएन । तर, स्वास्थ्य बिमा गरेपछि निःशुल्क उपचार सेवा पनि पाइने भएकाले उनी मालाखेती अस्पताल आएकी थिइन ।

attariya hospital

‘मेरो पिसाब रोकिने समस्या थियो । छाती पनि दुख्थ्यो । पिसाब रोकिने समस्याका कारण हिँडडुल गर्न पनि समस्या हुने गरेको थियो । खान पनि खान सक्थेन’ उनले भनिन् ‘यहाँको अस्पतालमा उपचार गराउन थालेपछि निको भएको छ । खान पनि खान लागेकी छु । काम पनि गर्न लागेकी छु ।’

उनले सुरुमा डाक्टरले अपरेशन गर्ने सुझाव दिएपनि पछि औषधीले नै निको भएको बताइन् । ‘डाक्टरले सुरुमा अपरेसन गर्नुपर्ने भनेका थिए । पछि म कमजोर भएकाले औषधी खाएर हेर्नुस् भने । अहिले औषधी खाएर निको भएको छ । औषधीले ठिक भएपनि अपरेशन गर्नुपर्दैन भनेका छन’ उनले भनिन् ‘औषधी पनि निःशुल्क पाउँदा सजिलो भएको छ । मलाई त यस अस्पतालको सेवा राम्रो लाग्यो ।’

एक वर्ष देखि शरीर चिलाउने समस्या लुकाएर बसेकी मालाखेतीकी गोल्मा सिजाल पनि आइतबार मालाखेती अस्पतालमा उपचार गर्न पुगेकी थिइन । स्वास्थ्य बिमा गरेपछि अस्पतालमा उपचार गराउन आएकी उनले निःशुल्क रुपमा सहज सेवा पाउँदा खुसी लागेको बताइन् । उनले अस्पतालमा कुनै झन्झट बिनै डाक्टरलाई चेकजाँच गराएर औषधी पाएको बताइन् ।

३ महिना देखि दमको उपचार गराइरहेकी मालाखेतीकै मनी तिखातेरी (दमाइँ) ले आफुस जस्ता न्यून आय भएकाहरूलाई अस्पतालले निःशुल्क सेवा दिने भएकाले सहज हुने गरेको बताइन् । उनले अस्पतालको सेवाबाट आफूहरू सन्तुष्ट रहेको बताइन् ।

मृगौलाको समस्या भएका कञ्चनपुरको झलारीका जनक सिहले पनि मालाखेतीबाटै सेवा लिने गरेको बताए । उनले स्वास्थ्य विमा गर्दा पनि मालाखेती अस्पताल छनोट गरेकाले पहिले आफू यही आउने गरेको बताए ।
मालाखेतीका कर्ण बहादुर साउदले अस्पतालमा धेरै उपचार सेवा नपाइए पनि भएका उपचार सेवा लिनका लागि सहज भएको बताए । उनले सेतीमा जस्तो भिडभाड पनि नहुने भएकाले डाक्टरहरूले पनि राम्रो सँग चेकजाँच गर्ने गरेको बताए ।

कञ्चनपुरको कृष्णपुरका बलराम ताम्राकारले सहुलियतमा उपचार सेवा लिन मालाखेती अस्पतालमा आएको बताए । उनले अस्पतालमा निःशुल्क चेकजाँच भएपनि औषधी भने नपाइएको बताए । उनले सबै औषधी बाहिरबाट खरिद गर्न पठाउँदा समस्या भएको बताए ।

मालाखेती अस्पतालमा स्वास्थ्य विमा गरेका विपन्न नागरिकले बढी सेवा लिन आउने गरेका छन । विपन्न नागरिकको भरोसाको केन्द्र अस्पताल बनेपनि सबै सेवा सञ्चालनमा नहुँदा भने बिरामीले बाहिर जानुपर्ने बाध्यता रहेको छ । अस्पतालमा अपरेशन, इन्डोर सेवा लामो समय देखि बन्द रहेका छन । अस्पतालमा हाल एमडिजिपी डाक्टरको नेतृत्वमा सेवा प्रभाव हुँदै आएको छ । अस्पतालमा अन्य ३ जना एमबीबीएस डाक्टर रहेका छन ।

भिडियो