सुदूरपश्चिमको मात्रै नभई पछिल्लो केही वर्ष यता देशकै सबैभन्दा मुख्य चुनौतीको रुपमा छाडा पशुचौपाया व्यवस्थापनको समस्या देखिएको छ । छाडा पशुचौपायाहरुको व्यवस्थापनका लागि तिनै तहका सरकारले करोडौ रकम खर्च गरेपनि हालसम्म समस्या भने जस्ताको तस्तै रहेको छ । छाडा पशुचौपायाकै कारण दुर्घटनाको जोखिम बढिरहेको छ भने किसानहरुले ढुक्कले खेतीपाती गर्न सक्ने अवस्था छैन ।
कार्तिक महिना सुरु भएयता मात्रै कैलालीमा सवारी दुर्घटनामा २ छाडा चौपायाको मृत्यु भइसकेको छ । लामो समय देखि छाडा चौपायाको व्यवस्थापन नहुँदा सडकमा दुर्घटनाको जोखिम कायमै छ । बजार र राजमार्गमा जताततै छाडा चौपायाको हुल देखिने गरेका छन । ति हुलहरु रातिको समयमा पनि चोकचोकमा जम्मा हुने गर्दछन् ।

रातिको समयमा राजमार्गमा भेटिने छाडा चौपायाको हुलले सवारीसाधन चलाउनै मुस्किल हुने गरेको छ । यसकै कारण दुर्घटना समेत हुने गरेका छन् । हरेक वर्ष जिल्लामा ४÷५ जनाको गाईगोरुसँग ठोक्किएर मृत्यु हुने गरेको छ । सवारीसाधनले ठक्कर दिँदा कयौं गाईगोरुका पनि मर्ने गरेका छन् । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि चौपायामा रेडियम लगाए पनि त्यो पर्याप्त हुन सकेको छैन ।

यात्रा गर्दा मात्रै होइन, तराइ क्षेत्रमा कृषकलाई खेती जोगाउन मुख्य चुनौति नै छाडा चौपाया बनेको छ । खेतमा तारबार लगाउनुका साथै रातभरि चौकिदारी गर्नुपर्ने अवस्था आएको कृषकहरु सुनाउँछन् । तारबार लगाएर पनि गाईगोरुबाट खेती जोगाउन मुस्किल हुने गरेको छ । रातीको समयमा किसानका खेतबारीमा पस्ने हुलका हुल छाडा चौपायाले गर्दा किसानहरुको खेती नै नष्ट गर्ने गरेको छ । दिउँसोको समयमा राजमार्ग क्षेत्रमा दुर्घटनाको जोखिम सृजना गर्ने छाडा चौपायाहरु रातीको समयमा किसानहरुलाई भोकै पार्नमा तल्लीन हुन्छन ।
खेतीपाती जोगाउन हरेकजसो कृषकले खेतमा तारबारले घेरेका छन् । काँडे तार र खम्बादेखि जडानमा समेत एउटै कृषकले ४०/५० हजारसम्म खर्च गरेका छन् ।
छाडा चौपायको समस्या सुरु भएको करिब १ दशक भएको छ । स्थानीयले दुध दुहेर छाडेका गाईनै अहिले छाडा भएका हुन् । तिनको संख्या प्रतिदिन बढ्दै गएको छ । यहाँका स्थानीय तहका पछिल्ला दुवै निर्वाचनमा उम्मेदवारहरुको मुख्य मुद्दा छाडा चौपाया व्यवस्थापन पनि थियो । ०७४ यता पालिका र वडा तहका जनप्रतिनिधिहरुले छाडा चौपाया व्यवस्थापनका लागि हरेक स्थानीय तहले डेढ÷दुई करोडसम्म खर्च गरेका छन् ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछिको ६ वर्षमा कैलाली कञ्चनपुरमा मात्रै करोडौ रकम खर्च भएको छ । तर पनि समस्या समाधान हुनुको साटो झन्झन् विकराल बन्दै गएको छ । दिगो रुपमा व्यवस्थापन गर्न नसके यो समस्या अझै विकराल बन्दै जाने देखिन्छ । स्थानियले छाड्ने क्रम नरोकिने तथा सहि ढंगले व्यवस्थापन पनि नहुँदा यो समस्या समाधान हुन नसकेको हो ।
सबैको लागि मुख्य चुनौती बनेको छाडा चौपाया व्यवस्थापनको समस्या समाधानका लागि विशेष योजना बनाईनु पर्दछ । सर्वसाधारणले घरमा पालिरहेका पशुचौपाया छाड्ने क्रम रोक्नुपर्दछ भने छाडिएका पशुचौपायाहरुको उचित व्यवस्थापनका लागि सरकारले काम थाल्नुपर्दछ । छाडा गाईगोरु व्यवस्थित ढंगले पालन गरे त्यसबाट आयआर्जन समेत गर्न सकिने हुनाले यसतर्फ सरकारले ध्यान दिनुपर्दछ ।
















