विभिन्न निर्माण कार्यको ठेक्का पाएका कतिपय ठेकेदारहरुले काम गर्ने गरेका छैनन । एकदमै न्यून मुल्यमा ठेक्का हाल्ने र आफ्नो कम्पनिमा ठेक्का परे बजेट अभाव देखाउदै काममा ढिलाई गर्ने परिपाटी मौलाएको छ । ठेक्का आफ्नो कम्पनिमा पार्न मरिहत्ते गर्ने तर ठेक्का परिसकेपछि काममा चासो नदिने केही ठेकेदारहरुका कारण अन्य ठेकेदारहरु पनि बदनामित् हुने गरेका छन । जसको असर निर्माण कार्यहरुमा परिरहेको छ ।
कैलालीकै चौकीडाँडा–फल्टुडे सडक निर्माणको ठेक्का पाएका ठेकेदारले हालसम्म पनि निर्माणको कार्य गरेका छैनन् । पटकपटक काम सुरु गर्ने प्रतिवद्धता गरेर पन्छिदै आएका ठेकेदारले ताकेता गरेर काम सुरु गर्ने प्रतिवद्धता गरेपनि हालसम्म सुरु गरेका छैनन् । असोज १४ गते भौतिक पूर्वाधार विकास कार्यालय धनगढीमा भएको त्रिपक्षीय छलफलपछि एडभेन्चर, थेगिङ, सनलाइट जेभिलाई असोज २४ गते र तेडी निर्माण सेवालाई असोज २० गते देखि काम सुरु गर्न ताकेता गरिएको थियो ।


ठेकेदारहरूले लिखित सम्झौता गरेर काम सुरु गर्ने बताए पनि काम भने गरेन । यस्ता कयाँै निर्माण कार्यहरु ठेकेदारको लापरबाहीका कारण ठप्प पर्ने गरेका छन । त्यस्ता ठेकेदारहरुलाई कारबाहीको प्रकया भने कहिल्यै पनि अघि बढेन । ठेक्का लिएर काम नगर्ने ठेकेदारहरुलाई कारबाही गर्नुको साटो उनिहरुलाई पटक पटक म्यान थप्ने कार्य सरकारले गर्ने गरेको छ । जसका कारण ठेकेदारहरु पनि मनमर्जि रुपमा काम गर्ने गर्दछन ।
सम्झौता अवधीभित्र काम नगर्ने ठेकेदारलाई बजेट नदिने र कारबाही गर्ने गरिएको भए देशमा भएका सबै विकास निर्माणका कार्यहरु सम्पन्न भैसकेका हून्थे । ठेकेदारका कारण काम रोकिएका योजनाहरुमा सरकारको पटकपटक बजेट खर्च भैरहेको छ । जसले राज्यको करोडौ रकमको दोहन भैरहेको छ । तसर्थ अब सरकारले काम नगर्ने ठेकेदारलाई तुरुन्तै कारबाही गर्ने कार्य गर्नुपर्दछ ।
ठेकेदारको लापरबाहीका कारण करोडौ रकमको क्षती बेहोर्नुको साटो ठेकेदारलाई नै कारबाही गर्न सके देशमा रहेका अपुरा विकासका योजनाहरु पक्कै पनि पुरा भैसक्थे । सरकारले यस्तो कदम चाल्न ढिलाई गर्नुहुदैन ।
















