बझाङ केन्द्रबिन्दु भएर मङ्गलबार दुई वटा भूकम्प गए । ५.३ र ६.३ रेक्टरस्केलका भूकम्पले बझाङलाई तहसनहस बनाएको छ । भूकम्पका कारण बझाङमा मात्रै नभई सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरुमा क्षती पुग्यो । प्रदेशभरि पूर्ण र आंशिक गरी ४१० भौतिक संरचनामा क्षती पुग्नुका साथै मानविय क्षति समेत हुन गयो ।
भुकम्पका कारण १ महिलाको मृत्यु भयो भने २७ जना घाईते भएका छन । घाईते हुनेमा बझाङका १८ जना, अछामका पाँच जना, बाजुराका दुई र बैतडीका दुई जना रहेका छन ।

यस्तै, प्रदेशभरि निजी घर ७६ र एउटा सरकारी कार्यालयमा पूर्ण रूपमा क्षति भएको छ । ३०१ वटा निजी घर ३२ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको बताईएको छ । भूकम्प केन्द्रबिन्दु भएको बझाङमा सबैभन्दा बढी ६४ घरमा पूर्णक्षति, २७७ घरमा आंशिक क्षति र नौ वटा सरकारी कार्यालयमा आंशिक क्षति भएको छ । बाजुरामा नौवटा निजी घरमा पूर्णक्षति, १३ निजी घरमा आंशिक, एक सरकारी कार्यालयमा पूर्ण र पाँच सरकारी कार्यालयमा आंशिक क्षति भएको छ ।

डडेल्धुरामा चार निजी घरमा आंशिक क्षति, बैतडीको दुई निजी घरमा पूर्ण, तीन घरमा आंशिक र तीन सरकारी कार्यालयमा आंशिक क्षति भएको छ । दार्चुलाको एक घर र एक सरकारी कार्यालयमा आंशिक क्षति, अछामको एक घरमा पूर्ण क्षति, दुई घरमा आंशिक र पाँच सरकारी कार्यालयमा आंशिक क्षति भएको छ ।
यस्तै, डोटीमा एक घर र आठ सरकारी कार्यालयमा आंशिक क्षति भएको छ । भूकम्पले पटकपटक सुदूरपश्चिमका पहाडी जिल्लाहरुलाई नहसनहस पारिरहेको भएपनि सरकारद्धारा राहतको कार्य भने एकदमै निराशाजनक हुने गरेको छ । अति आवश्यक समयमा प्रभावितहरुलाई राहतको व्यवस्था गर्नुको साटो सहानुभुती मात्रै प्रकट गर्ने गरिएको छ ।
भूकम्पबाट प्रभावितहरु मात्रै नभई बाढीपहिरोबाट प्रभावितहरुलाई पनि सरकारले राहतको व्यवस्था गर्न सकेको छैन । देशका नागरिकको अभिभावकका रुपमा रहेको सरकारले अभिभावकत्व निभाउन नसक्दा नागरिकहरुले सास्ती खेप्नुपर्ने अवस्था छ । देशमा तिन तहका सरकार आएका छन ।
तर समस्यामा परेका वर्गहरुका लागि भने कुनै पनि सरकारले काम गर्न सकेको छैन । भूकम्पका कारण बझाङ लगायतका पहाडी जिल्लाहरुमा पुगेको क्षतीको विवरण तत्काल संकलन गरी राहतको व्यवस्था गर्नतिर सरकारले ध्यान दिनुपर्दछ । समस्यामा परेको समयमा आफ्नो दायीत्व पुरा गरि नागरिकलाई सरकार भएको अनुभुती दिलाउने काम सरकारी तवरबाट हुन जरुरी छ ।














