सुदूरपश्चिमका पहाड ७ जिल्लाहरुको प्रवेशद्धार कैलालीको अत्तरिया बजारमा अनुगमन भएको छैन । करिब १ वर्ष वित्नै लाग्दा समेत अनुगमन नहुँदा यहाँका स्थानीय बजारमा बिक्रि हुने सामग्री तथा खाद्यपदार्थहरुको गुणस्तरमा प्रश्न चिन्ह खडा हुने गरेको छ । छिटफुट रुपमा गत वर्ष दशैँ तिहारको मुखमा बजार अनुगमन गरिएको भएपनि त्यसयता बजारमा अनुगमन भएको छैन ।
नगरपालिकाले निर्देशिकामा मासिक रुपमा बजार अनुगमन गर्ने उल्लेख गरेको छ । नगरपालिकाले बजार अनुगमनका लागि २०७५ मा बजार अनुगमन निर्देशिका तयार गरेको थियो ।

बजार अनुगमनका लागि निर्देशिकामा नगरपालिकाले आफ्नो स्रोत र जनशक्ति प्रयोग हुने गरी बजार अनुगमनका लागि आवश्यक कार्यक्रम र बजेट वार्षिक कार्यक्रममै समावेश गर्नुपर्ने हुन्छ । कार्यविधिमा उपभोक्ता हित संरक्षण समितिको मातहतमा रहने बजार अनुगमन टोलीले मासिक रुपमा योजना बनाई अनुगमन गर्नुपर्ने उल्लेख छ । तर निर्देशिकामा भने जस्तो नगरका बजारहरुमा भने अनुगमन हुन सकेको छैन ।

नगरपालिकामा गत वर्ष दशैँको मुखमा बजार अनुगमन गरिएको थियो । सो क्रममा दशैँअघि ३ दिन अनुगमन गरिएको थियो भने दशैँ पछि तिहार लक्षित गरी ४ दिन अनुगमन गरिएको थियो । अनुगमनका क्रममा धेरै पसलहरूमा अखाद्य वस्तु, म्याद गुज्रेका सामाग्री ठूलो मात्रामा फेला परेका थिए ।
लामो समय देखि बजारमा अनुगमन नहुँदा बजारमा अखाद्य बस्तु उपभोक्ताले उपभोग गरिरहेको नरहेको बारेमा पनि भन्न सक्ने अवस्था छैन । तर, उपभोक्ताले नै बजारमा अखाद्य बस्तु फेला पारेका घटना भने यस बीचमा धेरै देखिएका छन । विशेष गरेर पेय पदार्थहरुमा लेउ जमेका, जुसमा लेदो जमेको सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रकाशित समेत भएका थिए ।
स्थानीयलाई प्रत्यक्ष असर पर्ने भएकाले बजार अनुगमनको कार्य चाडो भन्दा चाडो गरिनुपर्दछ । एक दुई दिन मात्रै बजार अनुगमन गरेर फेरी चुप लागेर बस्दा फेरी सोही कार्य दोहोरीने भएकाले स्थानीय तहले अनुगमनको साथसाथै कारबाहीको प्रकृया पनि सुरु गर्नुपर्दछ ।
बजारमा भेटिने म्याद नाघेका बस्तु तथा अन्य विषादीयुक्त वस्तुहरु जफत गर्ने कार्य भैरहेका भएपनि त्यस्तो कार्य गर्ने व्यवसायीहरुलाई भने कारबाही गर्न सकिएको छैन ।
जसले गर्दा त्यस्तो विषयमा व्यवसायीहरुले पनि लापरबाही गर्ने गरेका छन । तसर्थ बजार अनुगमनको साथसाथै कारबाहीको प्रकृया थालनी गर्न सके पक्कै पनि बजारमा पाइने अखाद्य बस्तुहरुको विक्रिवितरणमा कमी आउने थियो । त्यसका लागि नियमित अनुगमन गर्ने कार्य स्थानिय तहले गर्नुपर्दछ ।















