कैलालीमा थारु आलुको प्रर्वद्धन गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले कृषि ज्ञान केन्द्र कैलाली मार्फत जिल्लामा थारु आलुको आवश्यकता महसुस गरेर आलु प्रर्वद्धन कार्यक्रम सञ्चालन गरेको हो ।
पछिल्लो सयम स्वास्थ्य वर्धक, स्वादिलो, भण्डारण गर्दा लामो समयसम्म नकुहिने र डढुवा लगायतका रोग सहन सक्ने भएकाले थारु आलुप्रति स्थानियको रुचि बढ्दै गएको छ । उन्नत जातका तुलनामा यो आलुले उत्पादन कम दिने भएपनि अन्य हिसाबले बढी लाभकारी भएकाले यसको लोकप्रियता बढ्न थालेको हो । लोकप्रियता बढ्दै गएको यस आलुको प्रवद्धर्न गर्न सुदूरपश्चिम प्रदेश सरकारले कार्यक्रम सञलन गरिरहेको हो ।

उक्त कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षमा ६० हेक्टर क्षेत्रमा आलु प्रवद्धर्न कार्यक्रम सञ्चालन गरिने भएको छ । कार्यक्रम अन्तरगत ६० हेक्टर क्षेत्रमा थारू आलु खेती बिस्तारका लागि कृषि सामग्री सहयोगको कार्यक्रम रहेको छ । जसअनुसार चालु आर्थिक वर्षमा १ हेक्टरमा थारू आलु खेती गर्ने किसानलाई लागतको ५० प्रतिशत कृषि सामाग्री सहयोग गरिनेछ । चाँडै फल्ने र राम्रो फसल दिने उन्नत र हाइब्रिड जातका आलुको तुलनामा कम उत्पादन दिएपनि स्वादिलो र बजारमा मूल्य पनि बढी पाइन थालेपछि पछिल्लो समय थारू आलु प्रति किसान आकर्षित भएका छन ।

यो आलु लामो समय सम्म भण्डारण पनि गर्न सकिन्छ । जसले गर्दा सिजन भन्दा पछि पनि किसानहरूले बिक्री गर्न पाउने भएकाले राम्रो मूल्य पाईने गरेको छ । सुदूरपश्चिमका कैलाली कञ्चनपुरमा यो आलु थारू समुदायमा वर्षौ पहिले देखि लगाइँदै आएको थियो । कैलालीमा यसको कति क्षेत्रफलमा खेती गरिन्छ भन्ने बारेमा कृषि ज्ञान केन्द्र कैलाली सँग यकिन तथ्याङ्क नभएपनि यो आलु थारू बस्ती भएका कैलालीका सबै क्षेत्रमा गरिदै आएको छ ।
कैलालीमा ६ हजार हेक्टर क्षेत्रफलमा आलु खेती गरिदै आएकोमा त्यसको २५ प्रतिशत क्षेत्रफलमा थारू आलु खेती गरिदै आएको अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ । खानमा स्वादिलो र भण्डारण गर्न सहज भएकाले नै हाल किसान यसमा आकर्षित भएका छन । थारु आलुले उन्नत आलुको तुलनामा दोब्बर तेब्बर मुल्य पाउने गरेको छ ।
पछिल्लो समय सरकारको अनुदान पाउनका लागि फर्जि किसान बनेर फाईदा उठाउनेहरुको बिगबिगी छ । सरकारले सञ्चालन गरेको थारु आलु प्रर्वद्धन कार्यक्रममा त्यस्तो नहोस भन्नका लागि उक्त कार्यक्रमलाई व्यवस्थीत बनाउन जरुरी छ । त्यसका लागि सरकारले कार्यक्रमका लागि आएका फाईलहरु मात्रै नहेरी प्रत्यक्ष अनुगमन गर्न पनि जरुरी छ ।
थारु आलुको खेती गर्ने किसानहरुलाई सहजता हुने किसिमले सरकारले अनुदान दिनुपर्दछ । कार्यक्रमले किसानहरुमा उमंग छाएको छ, तर अनुदान पाउने कुरामा समस्या नहोस । कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि प्रत्यक्ष खेती गर्ने किसानहरुलाई अनुदान दिइनुपर्ने कुरामा सरोकारवाला निकायले समयमै ध्यान पु¥याउन जरुरी छ ।















