नेपालमा बढी जसो नागरिकहरुले सार्वजनिक यातायात प्रयोग गर्ने गर्दछन । विकासोन्मुख देश भएकाले विदेशमा जस्तो यहाँका नागरिकहरुका आफ्नै सवारी साधन न्यून छन । एक स्थान बाट अर्काे स्थानमा आवतजावतका लागि नागरिकहरुले सार्वजनिक यातायात नै प्रयोग गर्नुपर्ने हुन्छ । तर सार्वजनिक यातायातको अवस्था भने दिनानुदिन नाजुक बन्दै गइरहेको छ । व्यवस्थीत रुपमा सञ्चालन हुन नसक्दा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुले सास्ती खेप्दै आइरहेका छन ।

पैसा कमाउनकै लागि सवारीधनिहरुले सवारी साधनको सिट भन्दा बढी यात्रुहरु राखेर लैजाने गर्दछन । सार्वजनिक यातायात तर्फ सरोकारवाला निकायको खासै ध्यान नजादा त्यो प्रवृत्ति हालसम्म हट्न सकेको छैन । जसका कारण यात्रुहरुले निकै सास्ती खेप्दै आइरहेका छन । सार्वजनिक सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु राख्नको लागि थप सिट नै बनाएर यात्रु राखिने गरिएको छ । विशेष गरेर छोटो दूरीमा चल्ने विङ्गर, हाइस, मिनी बसहरुले यसरी अनुमति लिएको सिट भन्दा बढी सिट बनाएर यात्रु ओसारपसार गरिरहेका छन । सवारी साधनहरुले अनुमती नै नलिई सिट थपेर यात्रुहरु कोच्ने गरेको भएपनि प्रहरी प्रशासन भने मुखदर्शक मात्रै बन्ने गरेको छ । सवारी साधनमा यात्रा गरेवाफत निश्चित भाडावाफतको रकम तिरेपनि यात्रुहरुले कोचिएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

राजमार्गहरुमा ठाउँ ठाउँमा प्रहरी चेकजाँच हुने गरेको भएपनि क्षमता भन्दा बढी यात्रु यात्रा गरिरहेको विषयमा उनीहरूले चासो दिने गरेका छैनन् । सवारी चेकजाँचका क्रममा प्रहरीले सवारी साधन र चालकका कागजात चेक गर्ने बाहेक अन्य कुरामा वास्ता गर्दैनन् । सवारी साधनमा अनुमति भन्दा बढी सिट थपेर यात्रु चढाउन मिल्दैन । तर सवारी धनीहरुले भने आफ्नो फाइदाका लागि अनुमती भन्दा बढी सिट थप्ने मात्रै नभई सिट संख्या भन्दा बढी यात्रुहरु राखेर लैजाने गरेका छन । हुन त यस्तो कार्यमा यात्रुहरुले पनि सजग बन्न जरुरी छ । तर यात्रुहरुलाई सिट नम्बर देखाएर सिटको निश्चित भाडा लिने त्यसपश्चात अन्य यात्रुहरु चढाउने परिपाटी सार्वजनिक सवारी साधनहरुमा छ ।
सिट संख्या भन्दा बढी यात्रु चढाईदा त्यसले दुर्घटनाको जोखिम पनि नित्याउने गरेको छ । त्यसकारण यस्तो गर्ने सवारी साधन र सवारी धनीहरुलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ । त्यसका लागि ट्राफिक प्रहरी कार्यालय लगायतका सरोकारवाला निकायले ध्यान दिन जरुरी छ । सवारी दुर्घटनाको मुख्य कारणका रुपमा पनि क्षमता भन्दा बढी यात्रुहरु राख्नु रहेकाले यसमा नियन्त्रण गर्न सके सवारी दुर्घटनामा पनि कमी आउने देखिन्छ । त्यसैले सवारी साधनहरुको कडाईका साथ चेकजाँच र अनुगमन गरी सार्वजनिक सवारी साधनहरुलाई व्यवस्थापन गर्न जरुरी छ ।















