खाेज्नुहाेस

पानामा रोग नियन्त्रणमा ध्यान दिऔं

Image

नेपालमा अहिले पानामा रोगको संक्रमण देखिएको छ । देशमै पहिलो पटक उक्त रोगको संक्रमण देखिएको हो । मुख्यगरी केरामा लाग्ने पानामा (टिआर–४० ) रोगलाई निकै खतरनाक मानिन्छ । यसअघि टिआर–१ मात्र फेला परेको थियो तर पहिलो पटक कैलालीको टीकापुर क्षेत्रमा पनि यो रोग फेला परेको पुष्टि भएको छ ।

नार्क अन्तर्गतको राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रले टीकापुरमा पनि उक्त रोग फेला परेको पुष्टि गरिसकेको छ । ‘पानामा’ (टिआर–४०) केरामा लाग्ने एक प्रकारको रोग हो र नेपालमा यो पहिलो पटक फेला परेको हो । यसलाई समयमा नियन्त्रण गर्न सकिएन भने अन्यत्र पनि सर्न सक्छ भने यसले केरा उत्पादनमा निकै प्रभाव पार्न सक्छ ।

attariya hospital
navjiwan hospital

यो माटोमा बस्ने ढुसी भएका कारण एक ठाउँबाट अर्को ठाउँसम्म सजिलै सर्न सक्ने भएकाले किसान, व्यापारी तथा अन्य सरोकारवाला सचेत रहनुपर्ने आवश्यकता देखिएको छ । ‘पानामा’ (टिआर–४०) ले खास गरी जिनाइन, विलियम हाइब्रिडलगायत धेरै जसो केराका जातमा आक्रमण गर्ने गरेको वैज्ञानिकले बताउदै आएका छन । यो रोग लागेमा सुरुमा पुराना पातको फेद पहेँलो हुने, त्यसपछि पातको किनारा पहेँलिन थाल्ने र पात सुकेर डाँठ भाँचिने गरेको वैज्ञानिकको अनुसन्धानबाट देखिएको छ ।

त्यतिमात्रै नभई केराको थाम चिरेर भित्र हेर्दा खैरो गानाबाट माथिसम्म फैलिएको देखिन्छ । त्यसका जराहरू काला हुन्छन्, सड्छन् र बिस्तारै केराको बोट नै ढल्ने गरेको छ । ‘पानामा’ रोग फ्युजारिया अक्सिस्पोरियम क्युबेन्स ढुसीद्वारा लाग्ने गर्दछ । यो ढुसीका चार वटा रेस (प्रजाति) हुन्छन् । तीमध्ये रेस २ र ३ जङ्गली जातको केरामा लाग्ने गरेको अनुसन्धानबाट देखिएको कृषि विज्ञहरुले बताएका छन । नेपालमा मालभोग र अरू स्थानीय जातका केरामा रेस १ लाग्ने गरेको छ । रेस ४ लाई टिआर–४ भनेर चिनिन्छ, त्यो रोगलाई टीकापुर क्षेत्रमा पिसिआरका साथै जिन सिक्वेस्सिङ विधिद्वारा पत्ता लगाउन मात्र सकिएको हो ।

राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र र सुदूरपश्चिम विश्वविद्यालय कृषि सङ्कायको टोलीले यो रोगका बारेमा जानकारी पाएपछि टीकापुर क्षेत्रमा लगाएको केरा खेती अवलोकन गरेको थियो । अवलोकन गर्दा ‘पानामा’ रोगसँग मिल्दोजुल्दो लक्षण देखिएपछि प्रयोगशालामा कल्चर गर्दा ‘फ्युजारिय अक्सिस्पोरियम क्युवेन्सी’का बीजाणु भेटिएका थिए । सुदूरपश्चिमका धेरै स्थानमा केरा किसानहरु रहेका छन । व्यवसायीक रुपमा केरा खेती गरेर स्वरोजगार बनेका किसानहरुलाई यो रोगले समस्यामा पारेको देखिएको छ ।

धेरै फैलन नपाएको यो रोगलाई तत्कालै नियन्त्रण गर्न सके केरा किसानहरुलाई राहत हुने देखिएको छ । तसर्थ भर्खरै देखिएको पानामा (टिआर–४० ) को नियन्त्रणका लागि सरोकारवाला निकायले ध्यान दिन जरुरी छ । कैलाली कञ्चनपुर बढी जसो केरा उत्पादन क्षेत्र हुन । यहाँका प्रायजसो पालिकाहरु केरामा आत्मनिर्भर छन । त्यस्ता क्षेत्रमा यो रोगको संक्रमण रोक्नु अनिवार्य छ । केरा किसानहरूको समस्यालाई ध्यानमा राखी स्थानीय तथा प्रदेश सरकारले रोग न्यूनिकरणका लागि तदारुकता देखाउन जरुरी छ ।