खाेज्नुहाेस

बारीमै विषादी रोकौं

Image

पछिल्लो समयम एक पछि अर्को नेपालमै उत्पादीत तरकारीमा प्रयोग गर्न नै नमिल्ने विषादीको मात्रा भेटिन थालेको छ । बजारमा परिक्षण गरिएका केही नमूनामा पनि यसरी विषादीको मात्रा भेटिन थालेपछि विषादीको प्रयोग बढेको सजिलै आकलन गर्न सकिन्छ । सामान्यतया रोग किराको नियन्त्रणका लागि किसानले विषादीको प्रयोग गर्दै आएपनि मानव शरिरमा गम्भिर असर पर्ने विषादी प्रयोग गरेर सिधै बजारमा तरकारी पठाउने क्रम बढ्दा यसले मानव स्वास्थ्यमाथि चुनौती थपेको छ ।

नेपाली बजारमा उत्पादित तरकारीको विषादी परिक्षण गरिरहेको विषादी अवशेष दु्रत विश्लेषण इकाइ अत्तरियाले पछिल्लो १ महिनाको अवधिमा २ वटा तरकारीका नमूनामा खान नमिल्ने अत्याधिक विषादीको रोकावट दर भएको भेटायो ।

attariya hospital
navjiwan hospital

कृषि प्राविधिकहरुका अनुसार ३५ प्रतिशत भन्दा कम विषादीको रोकावट दर भएमा खान योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशत सम्म विषादीको रोकावट दर भएका केही दिन पर्खेर उक्त तरकारी फलफुल खान मिल्छ । तर, ४५ प्रतिशत भन्दा बढी विषादीको रोकावट दर देखिएमा भने त्यसलाई खान मिल्दैन् । त्यस्तो तरकारीलाई नष्ट गर्नुपर्ने विषादी अवशेष दु्रत विश्लेषण कार्यक्रम संचालन निर्देशिकामा उल्लेख छ । शुक्रबार मात्रै अत्तरियामा नष्ट गरिएको भेडे खुर्सानीमा ६१ दशमलव ८५ प्रतिशत अर्गानोफस्फेटको मात्रा भेटिएको थियो । जुन मानव स्वास्थ्यका लागि निकै हानीकारक छ ।

यसरी विषादीयुक्त तरकारी बजारमा भेटिएपछि नष्ट गर्ने गरिएको भएपनि यसको नियन्त्रणका लागि खेतमा भने कुनै रोकटोक छैन् । किसानले तरकारीलाई रोग किराबाट जोगाउनको लागि यस्ता बिषादी प्रयोग गर्नुपर्ने बाध्यता भएपनि यसको सहि तरिकारले प्रयोग गर्न सकियो भने यसको असर उपभोक्तालाई पर्नबाट बचाउन सकिन्छ । जसले गर्दा किसानले प्रयोग गरेको बिषादी बारीमै नष्ट हुन पुग्दछ ।

जस्तोकी यस्ता विषादीलाई प्रयोग गरेपछि कती समय बारीमा पर्खेर उत्पादन संकलन गर्ने समय निर्धारण गरिएको हुन्छ । यस्तो समय फरक–फरक विषादीमा फरक–फरक तोकिएको हुन्छ । जुन कुरा किसानलाई बुझाउन र व्यवहारमा लागु गराउन जरुरी छ । यस्तै नेपाल सरकारले बन्द गरेका बिषादी पनि बजारमा भेटिने भएकाले यस्ता विषादी नियन्त्रणको लागि पनि अनुगमन गरिनुपर्छ ।

यसका लागि कृषि क्षेत्रमा काम गरिरहेका सरकारी कार्यालयहरुले बिशेष ध्यान दिन आवश्यक छ । सकेसम्म किसानलाई विषादी नै प्रयोग नगरी उत्पादन गर्न सिकाउने त्यो सम्भव नभए किसानहरुलाई रोक किराबाट जोगाउन विषादी प्रयोग गर्ने उचित तरिका पनि सिकाउन आवश्यक छ । नत्र विषादी युक्त तरकारी मानव शरिरमा प्रवेश गरी यसले भविष्यमा ठूलो स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।