राजस्व अनुसन्धान विभागले बुधबार त्रिभुवन विमानस्थल कार्गो परिसर अघिबाट एक सय किलो बढी अवैध सुन बरामद ग¥यो । एक अर्ब रुपैयाँ भन्दा बढी मूल्यको सुन विभागले आफ्नै पहलमा सफल अप्रेसन पछि अहिले विभाग सुनसँग जोडिएको कनेक्सनबारे थप अनुसन्धानमा छ ।
यसका साथै भन्सारबाट सुन बाहिरीएको विषयमा छानविन गर्न छानविन समिति गठन गरिएको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशकको संयोजकत्वमा गठन गरिएको ६ सदस्यीय छानविन समितिले घटनाको सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको जनाईएको छ । १० दिनअघि आएको कच्चा सूचनालाई विभागको सिंगो संयन्त्र परिचालन गरेपछि सुन तस्करीको हालसम्मकै ठूलो जालोमा आक्रमण गरिएको विभागले बताएको छ ।

त्यत्रो मात्रामा समातिएको सुन विमानस्थल भित्र नभई विमानको कार्गाे परिसर अघि बाट समातेको थियो । भन्सार जाँचपास गरेर तस्करीको सुन कसरी बाहिर गयो भन्ने विषय अहिले चर्चामा छ । सोही कार्यको अनुसन्धानका लागि छानविन समिति गठन गरिएको बताईदै आएको छ ।

भन्सारका कर्मचारीको कमजोरीकै कारण या अन्य कारणले त्यत्रो मात्रामा सुन बाहिर गयो भन्ने विषय त छानविन पछि बाहिर आउला नै तर यती धेरै मात्रामा सुन ल्याईदा समेत भन्सारले थाहा नपाउनुले नेपालको भन्सार विभागको कमजोरी स्पष्ट देखाएको छ ।
भन्सार कार्यालयहरुमा बाहिरी देशबाट भन्सार छलेर दैनिक रुपमा सामग्रीहरु भित्रिरहेका छन । ति सामग्रीहरु भन्सार कार्यालयकै कर्मचारीहरुको मिलेमतोमा भित्रिने गरेका छन । तर ति कर्मचारीहरुलाई कारबाहीको दायरामा ल्याउन भने सकिएको छैन । भन्सारमा काम गर्ने सामान्य कर्मचारीहरुको पनि रवाफ निकै ठुलो हुने गरेको छ । सामान्य खरिदार तहको कर्मचारीले समेत करोडौको कारोबारहरु गर्ने गरेका छन । तर बाहिरी रुपमा देखिएका ति प्रमाणहरुले उनिहरुलाई कारबाहीको भागीदार बनाउनुभन्दा पनि समाजमा उच्चो स्थानमा देखाएको छ ।
विगतदेखि नै भन्सार कार्यालयहरुमा देखिने यस्ता कमजोरीहरुलाई सुक्ष्म रुपमा निगरानी राख्न आवश्यक छ । कर्मचारीहरुलाई नियममा बाध्ने, कारबाहीको दायरामा ल्याउने र विशेष गरी भन्सारको पटक पटक छड्के अनुगमन गर्ने कार्य गरिनुपर्दछ ।
कर्मचारीकै मिलेमतोका कारण हुने यस्ता किसिमका गतिविधिहरुको अन्त्यका लागि गलत देखिएका कर्मचारीहरुलाई कडा भन्दा कडा कारबाहीको दायरामा ल्याउन अत्यन्त जरुरी छ ।















