धनगढी – कैलालीका भन्सार कार्यालयले गत आर्थिक बर्षमा लक्ष्य भन्दा कम राजस्व संकलन गरेको छ । दुई भन्सार कार्यालय रहेको कैलालीमा भन्सार विभागले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यअनुसारको राजस्व संलन गर्न नसकेको हो ।
कैलाली भन्सार कार्यालयलाई गएको आर्थिक वर्ष २०७९/०८० मा भन्सार विभागले १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार राजस्व उठाउने लक्ष्य तोकेको थियो तर ८ अर्ब २९ करोड ६३ लाख रुपैयाँ मात्र उठेको छ ।


यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्र भएको भन्सार कार्यालय कैलालीका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए ।
बैंक तथा वित्तीय संस्थामा देखिएको समस्याका कारण व्यापारिक वातावरण नहुँदा भन्सारबाट आउने र जाने सामानमा कमी भएकाले पछिल्लो समय राजस्व उठ्ने क्रम खस्केको सूचना अधिकारी खड्काले बताए । टीकापुर नगरपालिकाको सीमामा रहेको सत्ती भन्सार कार्यालय खक्रौलाबाट पनि लक्ष्यअनुसार राजस्व उठ्न सकेन ।
भन्सार विभागले सत्ती भन्सारलाई आव २०७९/०८० मा १६ करोड ९४ लाख, ४२ हजार राजस्व उठाउनुपर्ने लक्ष्य तोकेको थियो । सत्ती भन्सारले ७ करोड, ३८ लाख, ८९ हजार राजस्व संकलन गरेको छ । यो लक्ष्यको ४४ प्रतिशत मात्र भएको सत्ती भन्सार कार्यालय खक्रौलाका निमित्त प्रमुख तुलसीराम चौधरीले जानकारी दिए ।


















