अत्तरिया – किसान बहुउद्देश्यीय सहकारी संस्था अत्तरीया शाखाले सेवाग्राहीका श्रीमानको मृत्यु भएपछि ऋण मिनाहा गरेर तिरेको रकम पनि फिर्ता गरेको छ । सेवाग्राही गोदावरी नगरपालिका – १ विजयनगरकी शारदा देवी लुहारको सहकारीले ऋण मिनाहा गरेर तिरेको रकम पनि फिर्ता गरेको हो ।
२०७१ मा समुह मार्फत सहकारीमा आवद्ध शारदाले २०७८ र २०७९ सालमा गरी २ लाख ६५ हजार ऋण लिएकी थिइन । उनले उक्त रकम मध्ये १ लाख ७७ हजार ५०१ रुपैयाँ सहकारीलाई बुझाइसकेकी थिइन् भने ८७ हजार ४९९ रुपैयाँ उनले सहकारीलाई बुझाउन बाँकी थियो ।
शारदाका श्रीमान दिर्क बहादुर लुहारको बैशाख ८ गते निधन भएपछि सहकारीले उनको तिर्न बाकी ८७ हजार ४९९ रुपैयाँ मिनाहा गरेर उनले सहकारीमा तिरेको रकम १ लाख ७७ हजार ५०१ रुपैयाँ पनि फिर्ता गरेको सहकारीका शाखा प्रमुख भरत भण्डारीले जानकारी दिएका छन । उनले सहकारीले क्रिया खर्च वाफत थप ८ हजार रुपैयाँ शारदालाई दिएको बताए ।


२०७१ साउन १ गते स्थापना भएको किसान बहुउद्देश्यीय सहकारी संस्थाले हालसम्म समुहमा आवद्ध महिलाहरुका श्रीमानको मृत्युु भएपछि ७० जनाको ऋण मिनाहा गरिसकेको जनाएको छ । जसअन्तरगत ६२ लाख ५८ हजार ४८५ रुपैयाँ मिनाहा भएको शाखा प्रमुख भण्डारीले बताए । यस्तै २० जना मृत्यु भएका ऋणी सदस्यको पनि ३० लाख ६८ हजार ५२४ रुपैयाँ मिनाहा गरिएको उनले बताए ।
उनले सहकारी संस्थामा आवद्ध भएर मृत्यु भएका सदस्य ३१ जनालाई ३ लाख ७६ हजार र आवद्ध महिलाहरुका मृत्यु भएका श्रीमान १०९ जनालाई ९ लाख ११ हजार रुपैयाँ हालसम्म क्रिया खर्च वाफत वितरण भइसकेको बताए ।
सहकारीले सुत्केरी सुविधा, छात्रवृत्ति, औषधी खर्च, कोभीड सुविधा, लगायतका सेवा मार्फत पनि आवश्यक सहयोग गर्दै आएको छ । जसअन्तरगत सहकारीले हालसम्म ५६० जना सुत्केरी महिलालाई ८ लाख ८९ हजार रकम वितरण गरेको जनाएको छ ।
त्यस्तै औषधी खर्च वाफत ८ जनालाई १ लाख २० हजार, छात्रवृत्ति वाफत ८ जनालाई ४० हजार, कोभीड सुबीधा वाफत २५ जनालाई १ लाख २५ हजार, आगलागी पीडित १० जनालाई ३६ हजार, बाढीपीडित १ जनालाई हजार ३ हजार रकम वितरण गरेको जनाएको छ । सहकारीले हालसम्म उत्कष्ट ३ समुहलाई ९ हजार वितरण गरेको सहकारीका शाखा प्रमुख भण्डारीले बताएका छन ।

















