अत्तरिया – कैलालीको अत्तरिया उद्योग बाणिज्य संघमा नयाँ नेतृत्वको लागि दल बहादुर खड्का समुहको प्यानल घोषणा गरिएको छ ।
शनिबार पत्रकार सम्मेलन गरेर संघको आइतबार हुने चुनावी अधिवेशनका लागि बरिष्ठ उपाध्यक्षमा खड्का समुहको प्यानल घोषणा गरिएको हो । अध्यक्ष बाहेकका पदमा उम्मेदवारी दिएको उक्त समूहबाट उपाध्यक्षमा फागुराम चौधरी र रमेश कडायत रहेका छन ।

त्यस्तै महासचिबमा अर्जुन खड्का, सचिबमा हर्क बहादुर बिक, कोषाध्यक्षमा मिना देउबा रहेका छन । सदस्यहरुमा योसोदा चोखाल, नवीन साउँद, लक्ष्मण धामी, दिल बहादुर शाहु रहेका छन ।
उक्त समुहले अध्यक्षमा भने उम्मेदवार उठाएको छैन । अध्यक्षमा सस्थापन पक्षबाट कल्याण सिह बोहरा उम्मेदवार रहेका छन । सस्थापन पक्षका बाँकी उम्मेदवारको नाम भने अझै आधिकारीक रुपमा सार्वजनिक गरिएको छैन ।
खड्का समुहको प्यानल घोषणा गर्न आयोजित सभामा नेपाली कांग्रेस, नेकपा माओवादी, राप्रपा, रास्वपाका नगर सभापति/अध्यक्षहरुको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनमा उपस्थित नभएपनि उक्त समहुलाई एमालेको पनि समर्थन रहेको जनाइएको छ ।

कांग्रेस गोदावरीका नगर सभापति वीर बहादुर चोखालले अत्तरिया उद्योग बाणिज्य संघमा कुनै पार्टी विशेष नभएको बताए । उनले कुनै आग्रह पुर्वाग्रह नराखी अत्तरिया उद्योग बाणिज्य संघ व्यवसायीहरुको छाता संगठनका रुपमा प्रस्तुत हुनुपर्ने बताए ।
५ बर्ष पछि आइतबार अत्तरिया उद्योग बाणिज्य संघ चौथो कार्यकालका लागि निर्वाचन अधिवेशन हुन लागेको छ । यसअघि २०७५ मा भएको निर्वाचनमा एमाले र कांग्रेसको प्यानल बनाएर चुनाव भएको थियो । जसमा एमाले प्यानलका टिकाराम आचार्यलाई पराजित गर्दै कांग्रेस प्यानलका अशोकराज देवकोटा निर्वाचित भएका थिए ।
यस पटकको चुनावमा भने हालसम्म संस्थापन पक्ष र खड्का प्यानलबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।




















