खाेज्नुहाेस

गोदावरीमा जेठ सम्ममा ६४ प्रतिशत बजेट खर्च, यस्तो छ प्रगती

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले चालु आर्थीक बर्षको जेठ मसान्त सम्ममा ६४ दशमलव ३६ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । शुक्रबार दशौं नगरसभाको खुला सत्रमा नगरको चालु आर्थिक बर्षको वित्तिय प्रगती विवरण सार्वजनीक गर्दै वडा नम्बर १२ का वडा अध्यक्ष भीम बहादुर खड्काले सो कुरा बताएका हुन ।

नगरले चालु आर्थिक बर्षमा १ अर्व २९ करोड ८२ लाख ७१ हजार आम्दानी हुने अनुमान गरिएकोमा चालु आर्थिक बर्षको असार ५ गते सम्ममा १ अर्व १८ करोड २८ लाख २९ हजार अर्थात ९१.११ प्रतिशत आम्दानी प्राप्त भएको जनाएको छ ।

attariya hospital

नगरको चालु आर्थिक आर्थिक बर्षको जेठ मसान्त सम्ममा कुल बजेटको ८३ करोड ५० लाख ३३ हजार अर्थात ६४.३६ प्रतिशत खर्च भएको वडा अध्यक्ष खड्काले बताए । जसमा चालु तर्फ ५९ करोड ९८ लाख ३५ हजार र पूँजीगत तर्फ २३ करोड ५१ लाख ९८ हजार रहेको उनले बताए ।

नगरपालिकाले भौतिक प्रगति तर्फ २७ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको जनाइएको छ । नगरसभामा भौतिक प्रगति विवरण सार्वजनिक गर्दै वडा अध्यक्ष खड्काले हालसम्म ६ वर्षको अवधीमा गोदावरी नगरपालिकामा हरेक मौसममा संचालनमा आउने गरी सबै वडा लगायतको गरी २७ किलोमिटर सडक कालोपत्रे भएको बताए ।

यस्तै नगर सडकको नियमित मर्मत, स्तरोन्नतीका लागि चालु आवको जेठ मसान्तसम्म जम्मा ४१ किलोमिटर सडक ग्राभेल गरिएको, ५ किलोमिटर नाली निर्माण सम्पन्न भएको र नगरपालिकाका साना ठुला गरि करिब २० वटाकल्भर्ट निर्माण सम्पन्न भएको भौतिक प्रगति विवरण उल्लेख छ ।

वडा अध्यक्ष खड्काले एशियाली विकास बैंकको आर्थिक सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना मार्फत निर्माण गोदावरीमा निर्माण भइरहेको प्रशासनिक भवन हस्तान्तरण हुने प्रक्रियामा रहेको बताए ।

प्रगती विवरणमा नदीजन्य पदार्थ विक्रि शुल्क संकलन कार्य ठेक्काबाट व्यवस्थापन गर्नका लागि ६ पटक बोलपत्र आह्वान गर्दा समेत ठेक्कामा नगएकोमा २०७९ पौष देखि नगरले स्वयमले रोयल्टी संकलन गरी ४ करोड २१ लाख ६० हजार भन्दा बढी राजश्व संकलन भएको जनाएको छ ।
प्रगति विवरणमा अत्तरिया चोकलाई थप सुन्दर बनाउन हाई माक्स लाईट र वाटर फाउन्टेन जडान गरि आन्तरिक पर्यटकीय स्थल बनेको उल्लेख गरिएको छ ।

navjiwan hospital

यस्तै प्रगति विवरणमा भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अब्यवस्थित बसोबासीहरुको तथ्याङ्क संकलन गरी अनलाईन प्रविष्ट गर्ने कार्य भईरहेको र, वडा नम्बर १ नापी कार्य सम्पन्न भई वडा नम्बर २ र ५ मा नापीको कार्य भईरहेको छ जनाइएको छ ।

नगरपालिकाले चालु आर्थिक बर्षको प्रगती विवरणमा कृषि क्षेत्रको विकासका लागि माँगमा आधारित रही ५० प्रतिशत अनुदानमा १०० वटा पावल टिलर वितरण कार्य सम्पन्न भइसकेको, २६३ क्वीन्टल गहुँको बिउ, १३ वटा नविनतम प्रविधीयुक्त टनेल निर्माण सम्पन्न भएको जनाएको छ ।

यस्तै चरन तथा आहारा विकासका लागि नगरपालिका अन्तर्गत १२ वटै वडाहरुमा भएका पशुपंछी पालक अगुवा कृषक, कृषक समूह÷समिति तथा पशुपन्छी फार्महरुबाट माग संकलन गरी १२९८ केजी हिउँदे घाँसको बिउ, ८०१ केजी जैं घाँसको बिउ, २१८७।५ केजी टियोसेन्टी घाँसको बिउ र १२७९ केजी मिनरल ब्लक खरिद गरी वितरण गरिएको जनाइएको छ ।

प्रगति विवरणमा स्वास्थ्य तर्फ ८९ मध्यम र कडा कुपोषण बच्चाको उपचार गरिएको, १ हजार ७६७ जना गर्भवती जाँच गरिएको, १ हजार ६३५ जनाको सुरक्षित गर्भपतन गरिएको र ६२ हजार जनालाई कोरोना खोप लगाइएको उल्लेख छ ।
उपमेयर पोषण कोशेली वितरण कार्यक्रम र मेयर सँग जेष्ठ नगरिक जाँच सेवा संचालन गरी ५ हजार ८०४ जनाले सेवा लिएको वडा नम्बर ९ कोबेलादेवीपुर स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर र वडा नम्बर १२ चापसल्लीमा बर्थिङ्ग सेवा विस्तार गरी सेवा संचालन गरिएको उल्लेख छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १ हजार ५५८ जना बेरोजगारहरु सूचीकृत भएकोमा चालु आथिक बर्षमा १५५ जनालाई रोजगारी प्रदान गरिएको जनाइएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत आर्थिक, सामाजिक रुपले पछाडी परेका २१२ जना व्यक्तिहरुलाई ब्यूटीपार्लर, सिलाई कटाई, गुडिया बनाउने, चप्पल बनाउने, दुना टपरी, अचार बनाउने, तरकारी खेती, बाख्रा पालन लगायतका सीपमुलक तालिम प्रदानका गरिएको नगरको प्रगति विवरणमा उल्लेख छ ।

न्यायिक समितिबाट हालसम्म जग्गा, महिला हिंसा, लेनदेन, बाटो विवाद, गाली गलौच / कुटपिट सम्बन्धी जम्मा १०८ वटा मुद्दा दर्ता भएकोमा ७४ मुद्दाको विवाद फछ्यौट भई ३४ वटा मुद्दा पक्रियामा रहेको उल्लेख गरिएको छ ।

नगर सरकारलाई व्यवस्थित र कानूनी रुपमा संचालन गर्न हालसम्म २७ वटा ऐन, ४० वटा कार्यविधी, ८ वटा निर्देशिका र १० वटा अन्य ९निति, मापदण्ड० जम्मा ८५ वटा कानूनहरु जारी गरी सोही बमोजिम नगरपालिकाको कार्य सञ्चालन र ब्यवस्थापन भएको प्रगति विवरणमा उल्लेख छ ।

सम्बन्धित समाचार : गोदावरी नगरपालिकाले ल्यायो १ अर्ब २२ करोडको बजेट