खाेज्नुहाेस

गोदावरीमा लघुउद्यमी र वित्तिय सेवा प्रदायक संस्था बिच अन्तरक्रिया

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा नयाँ उत्पादन भएका लघुउद्यमी र वित्तिय सेवा प्रदायक संस्थाबिच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । नगरपालिकामा सञ्चालीत गरिबी निवारणका लागी लघुउद्यम विकास कार्यक्रम (मेडपा) अन्तरगत नयाँ उद्यमी सृजना गर्ने योजना मुताबिक कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नगरपालिकाका वडा नं. ११ र १२ का स्थानिय २५ जना लघुउद्यमीहरुको सहभागीता रहेको थियो । मेडपा कार्यक्रम अन्र्तगत सञ्चालीत ६ वटा चरणहरु मध्ये पाँचौ चरणका रुपमा उक्त कार्यक्रम गरिएको नगरपालिकाका उद्यम विकास सहजकर्ता नरेश साउँदले जानकारी दिए । उनले मेडपा अन्तरगत पहिलो चरणमा लघुउद्यमीहरु निर्माणका लागि सामाजिक परिचालन, दोश्रो चरणमा उद्यमशिलता विकास सम्बन्धी तालिम, तेस्रो चरणमा उपयुक्त सिप विकास तालिम र चौथो चरणमा प्रविधि हस्तान्तरण तथा पहुँच को काम गरिसकिएको बताए ।

attariya hospital
navjiwan hospital

उनका अनुसार पाचौ चरणका रुपमा लघुवित्तमा पहुँच शिर्षकमा लघुउद्यमीहरुलाई लघुवित्तको पहुँचमा पु-याउन र उनिहरुलाई आर्थिक जोहो गर्ने वातावरण सृजना गर्नका लागि अन्तरक्रिया गरिएको थियो । गत वर्ष र चालु आर्थिक वर्षमा सृजना गरेका लघुउद्यमीहरुलाई वित्तिय सेवाका कसरी पहुँच बनाउन सकिन्छ भन्ने विषयमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको बताए । मेडपा अन्र्तगत विभिन्न तालिमहरु सञ्चालन गरिएको उनले बताए । मेडपाको छैटौ चरणका रुपमा बजार र बजारीकरण रहेको उनको भनाई छ ।

नगरपालिकाका अर्का उद्यम विकास सहजकर्ता दिपेन्द्र ओलीले मेडपा कार्यक्रमका सहभागीहरुलाई वित्तिय सेवाको बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए । उनले मेडपा अन्र्तगत भएका विभिन्न तालिममा सहभागीहरुमध्ये छनौट गरेर २५ जनालाई कार्यक्रममा सहभागी गराईएको बताए ।

‘नगरपालिकाबाट प्राप्त तालिममा सिप सिकिसकेपछि सहभागीहरुले उद्यम वा व्यवसाय सञ्चालन गर्नुहुन्छ, त्यसका लागी आर्थिक समस्या हुनसक्छ’ उनले भने ‘सो आर्थिक समस्या नजिकको लघुवित्तबाट कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रममा जानकारी दिएका छौ ।’ उनले लघुवित्त संस्थाकै प्रतिनिधित्व हुने गरी ४ जना प्रशिक्षकहरुले कार्यक्रममा प्रशिक्षण दिएको बताए ।