खाेज्नुहाेस

कञ्चनपुरमा एक लघुवित्तद्धारा कागजात किर्ते गरी धमाधम ऋण

Image

कञ्चनपुर – लघुवित्तमा एक पटकमा कतिसम्म ऋण पाइन्छ; ५ लाख, १० लाख वा १५ लाखसम्म । तर यहाँको एक लघुवित्तले एउटै व्यक्तिको नाममा ३५ लाखसम्म ऋण दिएको छ । त्यो पनि जसको नाममा ऋण छ, उसलाई होइन । लघुवित्तकै कर्मचारीले किर्ते कागजात तयार गरी रकम हिनामिना गरेका छन् ।

यति मात्रै होइन एक पटक ऋण लिएर चुक्ता गरिसकेको भए पनि फेरि त्यहि व्यक्तिका नाममा पटक–पटक ऋण निकालिएको छ । सम्बन्धित व्यक्तिलाई थाहै नदिई कर्मचारीले नै उक्त रकम हिनामिना गरेका छन् ।

attariya hospital

नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका तत्कालीन शाखाप्रमुख सहित ५ जना कर्मचारीले बचतकर्ताको नाममा विभिन्न शीर्षकमा ऋण निकालेर हिनामिना गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । तत्कालीन शाखाप्रमुख भीमदत्त नगरपालिका १४ बनकट्टीका दीर्घराज जोशीसहित ५ जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

navjiwan hospital

प्रहरीको प्रारम्भिक अनुसन्धानमा १ करोड ३१ लाखसम्म हिनामिना भएको देखिन्छ । निवेदनहरू आउने क्रम जारी रहेकाले यो रकम अझै बढन सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए । उनका अनुसार सुरुमा ७२ लाख हिनामिना भएको भन्दै लघुवित्तबाटै जाहेरी आएको थियो । सोही जाहेरीका आधारमा अनुसन्धान गर्दा झन्डै डेढ करोड हिनामिना भएको देखिएको हो ।

लघुवित्तका हालका शाखा प्रमुख नीलकण्ठ घिमिरेले आर्थिक हिनामिना भएको भन्दै वैशाख २९ मा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले सुरुमा जेठ १ मा तत्कालीन शाखाप्रमुख जोशी, लेखाअधिकृत भागरथी कुँवर र बचतकर्ता शारदा थापालाई पक्राउ गरेको थियो । अनुसन्धानमा थप दुई जनाको पनि संलग्नता देखिएपछि फिल्ड कर्मचारी सरस्वती भट्ट र आरती पुनलाई समेत पक्राउ गरेको हो । भट्टलाई जेठ ९ मा र पुनलाई जेठ ८ मा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘बचतकर्ताले एक लाख ऋण निकाल्दा कर्मचारीले आठ–दश लाखसम्म हिनामिना गरेको देखिन्छ,’ प्रहरी निरीक्षक चन्दले भने, ‘ऋण निकालेका व्यक्तिका नाममा पटक पटक ऋण निकालेर तिर्नै नसक्ने बनाएका छन् ।’ उनका अनुसार पाँचै जनाले हालसम्म ८६ जनाको नाममा ऋण लिएको देखिएको छ । पीडितहरुको निवेदन आउने क्रम जारी रहेकाले यो संख्या अझै बढ्न सक्छ । सुरुमा ७२ लाख हिनामिना र कागजात किर्ते गरेको जाहेरी परेको थियो ।

पक्राउ परेका पाँचै जनामाथि बैंकिंङ कसुरअन्तर्गत मुद्दा दर्ता भएको प्रहरी निरीक्षक चन्दले बताए ।