अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ मा एमालेका उम्मेदवार माथि एमालेकै बागी उम्मेदवार हाबी भएका छन । वडामा एमालेले सुदूरपश्चिम प्रदेश सरकारका पुर्व सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीका छोरा भिष्म राज सुवेदीलाई उम्मेदवार बनाएको थियो । तर, टिकट वितरणमा असन्तुष्टि जनाउँदै आएका बल बहादुर चौधरीले वडामा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
गोदावरी नगरपालिका – ४ का पुर्व वडा सदस्य समेत रहेका चौधरीले पार्टीले आसेपासेलाई मात्रै टिकट दिएको भन्दै चर्को बिरोध गर्दै चुनावी मैदानमा एक्लै होमीएका थिए । उनले वडामा बागी उम्मेदवारी दिएपछि एमालेको गोदावरी नगर कमिटी उपाध्यक्ष पद बाट समेत हटाइएको थियो । पार्टीको कारबाहीका बाबजुत पार्टीका विरुद्ध लडेका चौधरीले वडामा पराजय भोगे पनि एमालेका वडा अध्यक्षलाई भने उछिनेका छन ।

चौधरीले वडामा सदर भएको कुल ३ हजार ४७१ मत मध्ये ८५१ मत पाउँदा एमालेका वडा अध्यक्षका उम्मेदवार सुवेदीले भने ५५९ मत पाएका छन । जसको फाईदा कांग्रेसका उम्मेदवारलाई पुगेको छ ।
वडा अध्यक्षमा विजयी भएका हेमप्रकाश मल्लले १ हजार ५९ मत ल्याउँदै विजयी भएका छन । मल्लले एमालेका बागी उम्मेदवार चौधरी भन्दा २०८ मत बढी पाएपनि एमालेका वडा अध्यक्षका उम्मेदवार सुवेदी र बागी उम्मेदवार चौधरीको मत जोड्ने हो भने मल्लको भन्दा ३५१ ले बढी हुन जान्छ ।
लामो समय देखि एमालेमा संक्रिय रहेर पनि पार्टीले टिकट वितरण गर्दा आफ्ना आसे पासेलाई प्राथमिकता प्राथमिकता दिएको भन्दै पार्टीको विरुद्धमा गएका चौधरीलाई सामान्य रुपमा हेरिएको थियो । तर, अहिले उनले पार्टीका उम्मेदवार भन्दा बढी मत ल्याएपछि अहिले पार्टीमा समिक्षा गर्नुपर्ने समय आएको एमालेकै नेताहरुले बताउन थालेका छन ।

गोदावरीमा २०७४ सालको चुनावमा मेयर उपमेयर सहित ६ वडामा विजयी भएको एमाले यस पटक भने यो खबर तयार पार्दा सम्म ९ वडाको नतिजा सार्वजनिक भइसक्दा एमालेले एक वडामा मात्रै जित निकालेको छ । गोदावरीका ९ वडाको मतगणना सकिदा नगर प्रमुखमा पनि एमाले कांग्रेसका भन्दा निकै पछाडी रहेको छ । उपमेयरमा भने एमालेले एकीकृत समाजवादी संग प्रतिस्पर्धा गरिरहेको छ ।
हारको कारण अन्तरघात
वडा नम्बर ४ मा मात्रै नभएर समग्र गोदावरीमा एमाले कमजोर देखिएपछि त्यसको मुख्य कारण एमाले भित्र अन्तरघात भएको भनेर टिकाटिप्पणी गर्न सुरु भएको छ । २०७४ सालको स्थानीय चुनावमा गोदावरीमा कांग्रेसको अपेक्षाकृत नतिजा नआउनुको कारण पार्टी भित्रको अन्तरघातलाई लिइएकोमा अहिले सोही रोग एमालेमा सरेको समेत चर्चा गरिन थालिएको छ ।
एमालेबाट मेयरका उम्मेदवार गोकर्ण भट्टले एमाले भित्रका अन्तरघातले पालिका नै कांग्रेसलाई बुझाएको टिप्पणी गरेका छन । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन ‘अन्तरघातिहरुले सिङ्गो पालिका नै काङ्ग्रेसलाई बुझाए ।’
गोदावरीमा एमालेको टिकट वितरणमै काखापाखा गरिएको आरोप लागिरहेका बेला एमालेको नतिजा नै झन कमजोर आउँदा सो आरोपमा मलजल पुगेको छ ।
जसका कारण अहिले मेयरका उम्मेदवार नै खुलेर अन्तरघातका बिषयमा बोल्न थालेका छन । चुनाव अघि पार्टी भित्र कुनै अन्तरघात नभएको बताउँदै आएका भट्टले चुनाव अघिको एमाले र चुनाव पछिको एमालेमा फरक पाएको बताएका छन । उनले सामाजिक संजाल मार्फत नै ‘मैले बुझेको एमाले चुनावमा जाँदा अर्कै पाएँ’ भनेर प्रतिक्रिया दिएका छन ।




















