धनगढी – चाडपर्व नजिकिएसँगै काठमाडौँ–धनगढी हवाई मार्गमा भाडादर बढेर २२ हजार सम्म पुगेको छ । सामान्य अवस्थामा १० हजार ८ सय रुपैयाँ हुने भाडादर बढेर हाल २२ हजार सम्म पुगेको हो ।

चाडपर्वका वेला काठमाडौँबाट धनगढी जाने यात्रुको चाप उच्च रहने र धनगढीबाट काठमाडौँ फर्किने उडानहरू प्रायः खाली हुने भएकाले भाडा समायोजन गर्नुपरेको एयरलाइन्स कम्पनीहरूको भनाइ छ । प्राधिकरणले तोकेको माथिल्लो सीमाभित्रै रहेर भाडादर तोकिएको दाबी उनीहरूले गरेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँ–धनगढी रुटका लागि अधिकतम भाडादर २१ हजार ६ सय रुपैयाँ निर्धारण गरेको छ ।

यता धनगढी विमानस्थलका प्रमुख महेन्द्रबहादुर सिंहले नागरिक उड्डयन प्राधिकरणले तोकेको अधिकतम सीमाभन्दा बढी भाडा लिन नपाइने बताए । तोकिएको सीमाभन्दा बढी रकम असुल गरिएका पाइएमा अनुगमन गरी आवश्यक कारबाही गरिने उनको भनाइ छ ।
















