बझाङ – जिल्ला प्रहरी कार्यालय बझाङ हिमाली जिल्लातर्फ साउन महिनाको कार्यसम्पादन मूल्यांकनमा देशभरमै उत्कृष्ट घोषित भएको छ । प्रहरी प्रधान कार्यालयले गरेको मूल्यांकनमा बझाङ प्रहरी उत्कृष्ट भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टले जानकारी दिए ।

बझाङ प्रहरीको कमान्ड सम्हालिरहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराको नेतृत्वमा कार्यालय उत्कृष्ट भएको हो । हालै मात्र बझाङको जिम्मेवारी सम्हालेका जोरा कुशल कमान्डिङ क्षमता भएका प्रहरी अधिकृतका रूपमा चिनिन्छन् ।

बझाङ पुगेपछि डीएसपी जोराले प्रहरीको कार्यसम्पादन सुधार, शान्ति सुरक्षा कायम तथा अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रहरी परिचालन गरेका थिए । सोही प्रयास र समग्र कार्यसम्पादनका आधारमा बझाङ प्रहरी हिमाली जिल्लातर्फ उत्कृष्ट घोषित भएको जनाइएको छ ।
यसअघि जिल्ला प्रहरी कार्यालय बाजुरा पनि हिमाली जिल्लातर्फको कार्यसम्पादन मूल्यांकनमा देशभरमै उत्कृष्ट घोषित भएको थियो । डीएसपी जोरा यसअघि सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा कार्यरत थिए । नयाँ जिम्मेवारी सम्हालेपछि उनले प्रहरी सेवा प्रभावकारी बनाउने, सुरक्षा व्यवस्था चुस्त पार्ने तथा अपराध नियन्त्रणलाई प्राथमिकता दिएका थिए ।

















