काठमाडौँ – रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न गरेदेखि नै आफूमाथि निरन्तर प्रहार भइरहेको दाबी गरेका छन् । जनआस्थाले ‘रास्वपा सांसद खगेन्द्र सुनार अर्को विवादमाः पूर्व मन्त्रीलाई मार्ने धम्की, पैसा असुली (अडियो र बैंकिङ कारोबारको विवरणसहित)’ शीर्षकमा सोमबार समाचार प्रकाशित गरेपछि उनले सो प्रतिक्रिया दिएका हुन ।
उनले सामाजिक सञ्जाल मार्फत भिडियो सार्वजनिक गर्दै भनेका छन ‘हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ । आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन् । एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन् ।’


आफूमाथि हुने छानबिनमा पार्टी र सरकारलाई सहयोग गर्न पनि आफू तयार रहेको सांसद सुनारले बताएका छन् । उनले भनेका छन्, ‘ममाथि उठेका प्रत्येक प्रश्नको, आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई म हार्दिक अपिल गर्न चाहन्छु । तर भ्रष्टाचारविरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार, घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु । यस्ता खालका भ्रममा नपर्न म आम नागरिकहरूलाई अपिल गर्न चाहन्छु । र, ममाथि हुने छानबिनको लागि म सबैलाई सघाउन तयार छु ।’
यसबिच रास्वपाले विज्ञप्ति जारी आन्तरिक छानबिन सुरु गरेको जनाएको छ । रास्वपाको केन्द्रीय अनुशासन समितिले पनि सांसद सुनारमाथि छानबिन सुरु भइसकेको बताएका छन् ।
जनआस्थाको समाचारमा सांसद सुनारले एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारी अश्लील भिडियो बनाएर ‘ब्ल्याकमेल’ गरेको भनिएको छ । सुनारले धम्की दिएको ४ वटा अडियोसमेत फेला पारेको जनआस्थाले जनाएको छ ।


















