धनगढी – सुदूरपश्चिम प्रदेशका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन गरिएको छ ।
धनगढीको जेन्जी मार्गमा एलइडी बोर्डको उद्घाटन कार्यक्रमसँगै आयोजित कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूले अभियानअन्तर्गत तयार पारिएका बुकलेट विमोचन गरेका हुन् ।


विमोचित बुकलेटमा रामारोशन क्षेत्र, सालमुनी, पादुका त्रिवेणी धाम, बैद्यनाथ धाम, भागेश्वर मन्दिर, पञ्चदेवल विनायक , जगन्नाथ मन्दिर, पाताल भुवनेश्वर, भुइँया, अमरगढी किल्ला, शैल्य शिखर मालिकार्जुन मन्दिर, उदयदेव मन्दिर, अजमेरकोट, त्रिपुरा सुन्दरी, उग्रतारा मन्दिर, बेहडाबाबा धाम, घटालबाबा, पद्म प्रकाशेश्वर महादेव, शिवपुरी धाम, गुम्बाहरु र देवथान समेटिएका छन्। यस अघि अपि हिमाल र शैलेश्वरी का बुकलेट विमोचन भइसकेका हुँदा धनगढी उपमहानगरपालिकाले जम्मा २३ वटा बुकलेट प्रकाशन गरिसकेको जनाएको छ ।
सुदूरपश्चिममा रहेका धार्मिक आस्थाका केन्द्र, ऐतिहासिक सम्पदा तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय गन्तव्यको पहिचान र महत्त्वबारे जानकारी गराउने उद्देश्यले बुकलेट तयार पारिएका हुन् ।
प्रचारप्रसारको अभावमा ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने र प्रदेशको पर्यटन सम्भावना उजागर गर्ने अभियानको लक्ष्य रहेको छ । ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानले सुदूरपश्चिमको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई व्यापक बनाउँदै पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।


















