डडेल्धुरा – सुदूरपश्चिमको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा यसको महत्त्वबारे जानकारी गराउने उद्देश्यले डडेल्धुरामा चौलो नाच प्रदर्शन गरिएको छ ।
नाङ्गो खुकुरी र तरबारसहित सोमबार प्रस्तुत गरिएको चौलो नाचले विद्यार्थी तथा उपस्थित दर्शकको ध्यानाकर्षित गरेको थियो । सुदूरपश्चिमको वीरता, साहस र सांस्कृतिक गौरव झल्काउने यस नृत्यको प्रदर्शनले विद्यालय परिसर नै सांस्कृतिक रंगमञ्चमा परिणत भएको थियो ।


कार्यक्रममा हुड्केली गीतसमेत प्रस्तुत गरिएको थियो । हुड्केको तालमा गाइने लोकभाकाले यहाँको सामाजिक जीवन, इतिहास र संस्कृतिलाई उजागर गरेको थियो । पछिल्लो समय आधुनिकतासँगै मौलिक संस्कृति ओझेलमा पर्दै गएको अवस्थामा यस्ता कार्यक्रमले परम्परागत कला र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने डोटेली संस्कृतिका जानकार कैलाशकुमार पाण्डेयले बताए ।
‘संस्कृति पुस्तान्तरणको आवश्यकता छ,’ उनले भने । नयाँ पुस्ताले आफ्ना मौलिक परम्परा बिर्संदै गएकामा उनले चिन्ता पनि व्यक्त गरे । ‘पुर्खाले सिर्जना गरेका सांस्कृतिक सम्पदा र पौरखका प्रतीकलाई संरक्षण गरेर भावी पुस्तासम्म पुर्याउनुपर्ने जरुरी छ,’ उनको भनाइ थियो ।
आफ्नो संस्कृति जोगाउन नसके आफ्नो पहिचान नै कमजोर बन्ने उनले बताए । उनले पुर्खाले छाडेर गएका कला, संस्कार र परम्परालाई पुस्तान्तरण गर्नु आजको आवश्यकता रहेको बताए । विद्यालय तहबाटै यस्ता संस्कृतिबारे जानकारी दिन सके युवा पुस्तामा आफ्नो मौलिकताप्रति गर्वको भावना विकास हुने उनको भनाइ थियो ।
सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख मीनबहादुर लामिछानेले स्थानीय संस्कृति र सम्पदाको संरक्षणका लागि कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले सुदूरपश्चिमका मौलिक कला, बाजा र लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी पनि दिए ।

















