खाेज्नुहाेस

कांग्रेस उपसभापति र महामन्त्री पदकाे मत परिणाम सार्वजनिक  

Image

काठमाण्डाैँ – नेपाली कांग्रेसको उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्बाचित भएका छन्। त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्।

अन्तिम मतगणना अनुसार खुलातर्फ दुई उपसभापति र दुई महामन्त्री तथा समावेशीतर्फ एक उपसभापति र महिलातर्फ एक महामन्त्री निर्वाचित भएका हुन्।

attariya hospital

खुला उपसभापतिमा भण्डारी ३ हजार ७३५ मतसहित निर्वाचित भएका छन्। अर्का विजयी मधु आचार्यले २ हजार ३४२ मत पाएका छन्।

प्रतिस्पर्धामा रहेका गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरूङले १ हजार ५९६, दीपक गिरीले ९२३ र चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन्।

समावेशी उपसभापतिमा विनोद चौधरी आफ्ना निकटतम प्रतिस्पर्धी जीवन परियारलाई ८७ मतले पराजित गर्दै विजयी भएका छन्।

navjiwan hospital

चौधरीले १ हजार ७४५ मत पाउँदा परियारले १ हजार ६५८ मत प्राप्त गरे। अर्का प्रतिस्पर्धी फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरूङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत पाएका छन्।

महामन्त्रीको खुलातर्फ प्रदीप पौडेल ४ हजार १९४ मतसहित विजयी भएका छन्। अर्का महामन्त्री उदयशमशेर राणा २ हजार ३३० मतसहित निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी सुनिलकुमार शर्माले २ हजार २५७ मत प्राप्त गरेका छन्। राणा र शर्माबीच जम्मा ७३ मतको अन्तर छ।

खुला महामन्त्रीका अन्य उम्मेदवारमध्ये गुरूराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन्।

महिला महामन्त्रीमा डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ ले २ हजार ८६४ मत प्राप्त गरेकी छन्। रीता खनालले ८०४ मत पाएकी छन्।

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भइसकेका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन्। कांग्रेसको संसोधित विधान अनुसार पार्टीमा एक वरिष्ठ उपसभापतिसहित चार उपसभापति र तीन महामन्त्री रहने व्यवस्था गरिएको छ।

चार उपसभापतिमध्ये दुई खुला, एक महिला र एक समावेशी समूहबाट निर्वाचित हुने व्यवस्था छ।