एउटा सुन्दर गाउँमा धेरै समय अघिको कुरा हो । सोझो नामको एक जना गोठालो बस्ने गथ्र्यो । उसलाइ खान र लगाउन बाहेक केही आवश्यक पर्दैनथ्यो । पेट भोको नभए र शरीरमा एकसरो लुगा भए आफूलाई खुबै धनी सम्झने उसको बानीले चिनजान नातागोता सबै वाक्क दिक्क भएर बोल्न छोडिसकेका थिए । उ भने जन्मेको छैटौँ दिनमा लेखिएको कुरा कहिल्यै टर्दैन भनेर विश्वस्त थियो । यसो भनेर आफ्नी धर्मपत्नी लाई भुल्याउनु उसको दैनिक दिनचर्या नै हुन पुग्यो ।
यही स्वभावले धनी नबनेको सोझो गोठालोलाई छोड्न उसकी पत्नीले प्रयास भने नगरेको होइन । तर सानो सानो कुरामा खुसी हुने भएकाले सम्बन्ध टिकिरहेको थियो । एक दिन बाटोमा हिँड्दा हिँड्दै अचानक सोझो गोठालोको मनमा यस वर्षको दसैँ कसरी मनाउने भन्ने कुरा आयो । पछि खेताला जाने सर्तमा भएपनी एउटा कुखुरा कसै न कसैबाट माग्नु पर्यो भन्दै हिँडिरहेको थियो । उसको आँखाले एक मरेको कुखुरा देख्न पुग्यो । सोच्यो यो भगवानले पठाएको न हो लैजाँदा के हुन्छ ? मैले नलैजाँदा पनि कुकुरले न खाने हो भनी दरो मनका साथ त्यसलाई समातेर घर ल्याइ पत्नी लाई मीठो सँग पकाउन आदेश दिँदै रुखको छहारीमा बस्न भनी गयो ।


उता गोठालोकी पत्नीले कुखुरा काट्दा पेट भित्र पहेँलो जस्तो देखिने ठुलो डल्लो देखिन । र चिच्याउँदै आफ्नो श्रीमानलाई बोलाइन । हेर्दा स्पष्ट सुन हो भनेर गोठालोले चिन्न सकेन र सरासर गाउँका जिम्वाल कहाँ गयो । सुन सँग ५ वटा बाख्रा साटेर ल्यायो । सोझो गोठालो ले आफ्नी पत्नी सँग सल्लाह गरी अब बाख्रा मा ध्यान दिने बिचार गर्यो । सोझो गोठालोको अथक मेहनत पछि दिनानुदिन उसका बाख्रा निकै धेरै हुन पुगे केही समय पछि सोझो गोठालो एक नामी कृषक बन्न पुग्यो ।
यता सोझो गोठालो कि पत्नी अहमता मा यतिसम्म अघि बढिन कि गाउँघरका मान्छेहरू सँग बोल्न समेत दिक्क मान्नु धनको घमन्ड नै थियो । अज्ञानी पत्नी त्यो सोझो गोठालो को मेहनत बिर्सेर अर्कै जीवनको परिकल्पना गर्न पुगिन । शरीर भरी पसिना भएको सोझो गोठालो आफ्नी पत्नी का लागि दिक्कको पात्र हुन पुग्यो । रातदिन गोठालो कि पत्नी को मनमा भने एउटा कुरा खुबै खेलिरहन्थ्यो ।
उता गोठालो आफ्नो दैनिक काममा निकै व्यस्त हुँदा यता उनकी पत्नी भने आफू लायक कोही नभेटाएर एक दिन राजा लाई भेट्न भनी दरबार गइन । अनेक कुरा पछि महाराजले सोझो गोठालो कि पत्नीको परीक्षा लिने बिचार गरे । भने तिमी यदि तिम्रो पति लाई छोड्छौ भने म महारानी बनाउने छु । यो कुराले दिउँसै सपना देखेकी पत्नी घर फिर्ता भइन । योजना अनुसार सोझो गोठालोलाई छोड्न पुगिन । सबै व्यवस्थापन गरेर उनी दोस्रो दिन दरबार गइन । सबै कुरा महाराजलाई भनेर सकेकी सोझो गोठालो कि पत्नीलाई महाराज ले भन्नुभयो– ‘तिमिलाई म एक दिनको समय दिन्छु जे जे सक्छौ दरबारबाट लगेर जाऊ ।’
यस्तो आदेश पाएकी गोठालो पत्नी आफू नै दरबारकी महारानी हुँदा किन के चाहियो र ? भनेर सज्जिएर खोपीमा सुतिरहिन । साँझको समय सिपाहीहरू आएर उनलाई बाहिर निकालिदिए अलमल मा परेकी सोझो गोठालो पत्नी सँग नत महारानी को पदवी रह्यो । नत नामी कृषकको पत्नी बन्ने सौभाग्य । रह्यो त केबल अहमता, अज्ञानता ले बनाएको खरानी ।















