अत्तरिया – कञ्चनपुरमा प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली ल्याएका सामान बरामद गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी इकाईहरूबाट खटिएको प्रहरी टोलीले १ लाख १४ हजार २२० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको हो ।

जसमा इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले ६० हजार बराबरका पुरुषले लगाउने कुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले २४ हजार ८२० बराबरको कपडा, अन्डर ट्राउजर, दाल बरामद गरेको छ ।

यस्तै प्रहरी चौकी टेडुवाबाट खटिएको प्रहरीले २२ हजार २ सय बराबरको गुड, पेय पदार्थ, कुखुरा बरामद गरेको छ भने प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले ७ हजार २ सय बराबरको कुखुरा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी÷प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले बताए ।
















