दार्चुला– दार्चुलाको दुर्गम अपिहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीमा पहिलोपटक जिप पुगेको छ । मकरीगाडदेखि खण्डेश्वरीसम्म सडक विस्तार भएपछि बुधबार गाउँपालिकाको कार्यालय परिसरमै जिप पुगेको हो ।

यसअघि मकरीगाडसम्म मात्रै सवारीसाधन पुग्ने गरेका थिए । त्यहाँबाट गाउँपालिकाको कार्यालयसम्म पुग्न स्थानीयले पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो । करिब ९ किलोमिटर सडक विस्तार भएसँगै अब गाउँपालिकाको केन्द्रसम्मै गाडी पुग्न थालेका छन् । गाउँपालिकाको कार्यालयमा पहिलोपटक जिप पुगेपछि जनप्रतिनिधि, कर्मचारी र स्थानीयले खुसीयाली मनाएका छन् । गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराका अनुसार मकरीगाडदेखि काफलधारसम्म संघीय सरकारको बजेटबाट सडक निर्माण गरिएको हो भने काफलधारदेखि कार्यालयसम्म गाउँपालिकाको लगानीमा सडक विस्तार गरिएको हो ।

सडक पुगेपछि गाउँपालिकाको केन्द्रसम्म खाद्यान्न, निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज हुने अध्यक्ष बोहराले बताए । यसले बिरामीलाई उपचारका लागि अस्पताल पु¥याउन र स्थानीयको आवतजावतमा समेत राहत पुग्ने अपेक्षा गरिएको छ । सडक विस्तारसँगै गाउँपालिकाले पर्यटन प्रवद्र्धनको सम्भावनासमेत बढ्ने विश्वास लिएको छ । अब पर्यटकहरू सवारीसाधनमै खण्डेश्वरी पुगेर नौपाटा होमस्टेलगायत आसपासका पर्यटकीय क्षेत्रमा जान सक्नेछन् ।
गाउँपालिकाले आगामी दिनमा खण्डेश्वरी बजार हुँदै वडा नम्बर ३ सम्म सडक विस्तार गर्ने योजना बनाएको अध्यक्ष बोहराले जानकारी दिए । त्यसका लागि प्रदेश र संघीय सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ छ । लामो समयदेखि यातायातको सहज पहुँचबाट टाढा रहेको गाउँपालिकाको केन्द्रमै जिप पुगेपछि स्थानीयले यसलाई विकासको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । सडक पहुँचले दैनिक जीवनयापन सहज बनाउनुका साथै स्थानीय आर्थिक तथा सामाजिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

















