खाेज्नुहाेस

हामीले जनमतको सदुपयोग गर्न जानेनौँ, नयाँ शक्तिले कमजोरीबाट शिक्षा लिओस् : वर्षमान पुन

Image

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले संविधान संशोधनका नाममा लोकतन्त्र, गणतन्त्र र समावेशीता जस्ता प्राप्त उपलब्धिका विषयमा कुनै पनि प्रकारको सम्झौता हुन नसक्ने स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले देशको मूल राजनीतिक ढाँचा र सामाजिक न्यायको मुद्दामा आफ्नो पार्टी अडिग रहने बताएका हुन् ।

navjiwan hospital

राष्ट्र निर्माण र राष्ट्रिय स्वाधीनताको पक्षमा सरकारलाई सहयोग गर्न नेकपा सधैं तयार रहेको उनले उल्लेख गरे । सांसद पुनले विगतमा कम्युनिष्ट पार्टीहरूले प्राप्त गरेको विशाल जनमतको सही सदुपयोग गर्न नसकेको यथार्थलाई स्वीकार गर्दै नवनिर्वाचित शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई विगतका गल्तीबाट पाठ सिक्न सुझाव दिएका छन् ।

attariya hospital

२०६४ सालमा तत्कालीन नेकपा (माओवादी केन्द्र) ले पाएको भारी जनसमर्थन र २०७४ सालको निर्वाचनपछि बनेको झण्डै दुई तिहाइ बहुमतको सरकारले अवसर पाएर पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेको उनले स्मरण गरे । ‘हामीले जनमतको सदुपयोग गर्न जानेनौं र सकेनौं, हाम्रा यस्ता कमजोरीबाट शिक्षा लिएर नयाँ शक्तिले देश र पार्टीलाई अगाडि बढाओस्,’ उनले सदनमा भने ।

सामाजिक न्याय र समाज रूपान्तरणको सवालमा सरकारले चाल्ने सकारात्मक कदममा आफ्नो पार्टीको पूर्ण समर्थन रहने प्रतिबद्धता पुनले व्यक्त गरे । तर, संविधान संशोधनको बहस चलिरहँदा गणतन्त्र र समावेशीता जस्ता आधारभूत स्तम्भहरूलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने उनको चेतावनी छ ।